जनबोली/४ फागुन, बिराटनगर । नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पराजित गर्दै झापा-११ तेस्रो विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा झापा ११ ले पुलिसलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्‍यो । अब झापाले पहिलो सेमिफाइनलमा जगदम्बा लुम्बिनीसँग बुधबार खेल्नेछ ।

निर्धारित समयमा दुबै टोलीबाट २-२ गोल भएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन सकेन र खेलको निर्णय टाइब्रेकरबाट लिइयो ।

टाइब्रेकरमा झापाका कर्ण लिम्बु, बुद्ध चेम्जोङ, दिलन लोक्ताम र देवेन्द्र तामाङले गोल गरेका थिए भने रवि थापाको प्रहार बाहिरिएको थियो । पुलिसका निरकुमार राई र सुमन सुवेदीले गोल गरे भने भोला सिलवाल र योगेश श्रेष्ठको प्रहारलाई झापाका गोलरक्षक नरेन्द्रमणी लिम्बूले रोकेका थिए ।

यसअघि खेल सुरु भएको ६ औं मिनेटमा नै झापाले योगेश गुरुङले गोलबाट अग्रता लिएको थियो । योगेशले कर्ण लिम्बूको पासमा गोल गरेका हुन् । १२ औं मिनेटमा झापाका दिनेश कार्कीको प्रहारलाई पुलिसका गोलरक्षक रितेश थापाले बचाए ।

१४ औं मिनेटमा पुलिसका भरत साहको प्रहार झापाका गोलरक्षक नरेन्द्रमणी लिम्बूले पञ्च गरेको बलमा जुमानु राईले बराबरी गोल गरे । मध्यान्तर अगाडी दुवै टिमले आक्रामक खेल प्रदर्शन गरेपनि थप गोल हुन सकेन ।

६२ औं मिनेटमा विशाल राई ए को पासलाई सदुपयोग गर्दै योगेशले व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २-१ को अग्रता दिलाए । त्यसको केही मिनेट अघि मात्र पुलिसका जुमानु राईको प्रहार झापाका गोलरक्षकले पञ्च गरेर बचाएका थिए ।

तर, झापा अन्तिम मिनेटमा सम्हालिन सकेन । पुलिसका लागि मानबहादुर परियारले बराबरी गोल गरेका हुन् ।

अतिरिक्त समयको नवौं मिनेटमा पुलिसका गोलरक्षक थापाले झापाका कर्ण लिम्बू र खमिर गिल्सनको लगातार प्रहारलाई विफल बनाएका थिए । खेलको म्यान अफ म्याच झापाका योेगेश गुरुङ घोषित भए ।

मंगलबारको अन्तिम क्वार्टर फाइनल खेल थ्रीस्टार क्लव ललितपुर र मनाङ मस्र्याङ्दीबीच हुनेछ ।

सम्बन्धित खबरहरु