जनबोली/५ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्याण्डले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।
तेस्रो विश्वकप खेलिरहेको एसोसिएट्स राष्ट्र स्कटल्याण्डले विश्वकपमा अहिलेसम्म कुनै जित हात पार्न सकेको छैन । उसले सन् १९९९ र २००७ मा विश्वकप खेलेको थियो ।
मंगलबार स्कटल्याण्डले प्रस्तुत गरेको १४३ रनको लक्ष्य न्यूनिल्याण्डले २४.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि केन विलियम्सनले ३८ र ग्रान्ट इलिओटले २९ रनको योगदान दिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ३६ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनायो ।
स्कटल्याण्डका लागि म्याट मचहनले सर्वाधिक ५६ र रिची बेरिङटनले ५० रन बनाए । उसलाई सस्तैमा समेट्ने क्रममा ड्यानिअल भिट्टोरी र कोरी एण्डसरसनले समान ३–३ विकेट लिए ।