लहान । आधुनिक उपकरण नपाएर उचित व्यवस्थापन गर्न नसक्दा सिरहाको उत्तरी भेगमा भोर्ला (मलहान) को पात बनाउने उद्यमीहरुलाई चुनौतीको सामना गर्नु परेको छ । आधुनिक उपकरणको प्रयोगले अन्य ठाउँका उद्यमीहरु त्यस पातलाई कटिङ्ग गरेर प्लेट बनाउँछन् भने सिरहाका उद्यमीहरु पुरानै शैलीको पात बेच्न बाध्य भएका हुन् ।
तर, सिरहा जिल्ला विकास समितिले भोर्लाको पात बनाउने ५ थान मेसिन खरिद गरेको बर्षौ भइसक्यो । त्यसको उचित व्यवस्थापन र प्रयोग हुन नसक्दा थन्किएर कवाडीको अवस्थामा पुगेको छ ।
उद्यमीहरुको करबाट उनीहरुकै उठानका लागि भनेर किनिएको मेसिन बिग्रिने अवस्थामा पुगेपनि जिविसले त्यसको कुनै चासो दिएको छैन । ‘हाम्रो गाउँमा पाँच वर्ष अघि भोर्लाको पात धेरैले बनाउथ्यो,’ फुलबरियाका रामपवित्र दासले भने, ‘उनीहरुले विस्तारै त्यो व्यवसाय छोडेर अन्य काम गर्न थालेको देखिन्छन् ।’ पुरानै तरिकाले बनाउने पातको उचित मूल्य पाउन नसक्दा उनीहरुले उक्त व्यवसाय छाडेको हुन सक्ने उनले दाबी गरे ।
उनका अनुसार अहिले ती पातहरु बिना प्रयोग सुनेर खेर जाने गरेको छ । रामपवित्रका अनुसार पाँच वर्ष अगाडि यस गाउँमा मात्र पचास भन्दा बढी त्यस्ता उद्यमी थिए भने पछिल्ला वर्षमा दुई चार जना मात्र छन् ।
आधुनिक मेसिनको प्रयोगले थोरै समय खर्चेर धेरै प्लेट बन्छन् र थोरै मूल्यमा बिक्री गर्न पाउँछन् भने हामीले त्यस्ता मेसिन नपाएको हुँदा पात मात्र बनाउन धेरै समय खर्चिनु परेको र त्यस अनुसारको मूल्य निर्धारण गर्दा महंगो भएर नबिक्ने गरेको उत्तरी भेगका स्थानीयहरुले बताए ।
आर्थिक अवस्था कमजोर भएकोले महंगो पर्ने उक्त मेसिन किन्न नसकेको उनीहरुको तर्क छ । भोर्लाको प्लेट बनाउने मेसिनसँग जिविसको अन्य कार्यक्रमबारे बुझ्नका लागि प्रयास गर्दा आफुले कुनै जानकारी नपाएको नेपाल पिछडा वर्ग (इद्यऋ) महासंघका सिरहा अध्यक्ष विजय कुमार यादवले बताए ।
भोर्लाको प्लेट बनाउने मेसिन खरिद भएको सम्बन्धमा सूचना शाखालाई कुनै जानकारी नभएको जिविसका सूचना अधिकारी अब्दुल सुलतान राहीले बताए । उक्त मेसिन खरिद गर्ने अर्कै व्यक्ति भएको र त्यसबारे यस शाखालाई जानकारी नगराएको हुँदा यसबारे आफुले केही भन्न नसक्ने उनले प्रतिक्रिया दिए ।
स्थानीय विकास अधिकारी गोपाल कुमार अधिकारीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन् ।