काठमाडौं । आज नेपाली जनताले स्वतन्त्रतापुर्वक हिडडुल र जीवनयापन गर्न पाउने अधिकार प्राप्त गरेको दिन । अर्थात् आज प्रजातन्त्र दिवस । देशभर प्रजातन्त्र दिवस धुमधामकासाथ मनाईंदै छ । देशमा गणतन्त्र स्थापना पश्चात् सरकारले यो दिवस मनाउन छाडेको थियो ।
तर, राजनीतिक दलका नेताहरुमा पुनः चेतना पलाएपछि यो दिवस मनाउन थालीएको हो ।
विक्रम सम्वत् २००७ साल फागुन ७ गतेका दिन एक सय चार वर्ष लामो जहाँनियाँ राणाशासनको अन्त्य भई मुलुकमा लोकतन्त्र स्थापना भएको थियो ।
६५औं राष्ट्रिय प्रजातन्त्र दिवस धुमधामले मनाउन सरकारले फागुन ६ गतेदेखि ८ गतेसम्म ३ दिन विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।
प्रजातन्त्र दिवस मनाउनका लागि प्रधानमन्त्री सुशील कोइरालाको संयोजकत्वमा प्रजातन्त्र दिवस मूल समारोह समिति समेत गठन भएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आज टुंडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिदैछ ।
विक्रम सम्वत् १९९७ मा चार जनालाई राणा विरोधि गतिविधि गरेको भन्दै फाँसि दिइएको थियो । तत् पश्चात् जनआन्दोलन झन् तिब्र रुपमा बढ्यो र सात सालमा दिल्लीमा त्रिपक्षीय सम्झौता भयो र नेपालमा प्रजातन्त्र आयो ।
२०६२/०६३ को जनआन्दोलनले त राजतन्त्रकै अन्त्य गरायो । अहिले नेपाल लोकतन्त्रको सुन्दर संसारमा रमाइरहेको छ ।