electricity theftकाठमाडौं । विद्युत् प्राधिकरणका प्राविधिक र ठूला ग्राहकको मिलेमतोमा व्यापक रूपमा विद्युत् चोरी हुने गरेको तथ्यांक फेला परेको छ। यसले मिटरमा बिजुली कम खपत भएको देखाएर प्राधिकरणलाई करोडौं रुपैयाँ नोक्सानीमा पार्ने काम भएको छ।

यसरी नोक्सानी गर्नेलाई प्राधिकरणले विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत फाइल उठाउनुपर्नेमा अधिकांश बिजुली चोर्ने ग्राहकलाई ‘छुट बिल’ को फाइल उठाएर उन्मुक्ति दिँदै आएको पनि खुलासा भएको अन्नपूर्णा पोस्टमा खबर छ।

ऐनअन्तर्गत फाइल उठाउँदा बिगोको शतप्रतिशत जरिबाना तिर्नुपर्छ भने छुट बिलअन्तर्गत अनुमानित ऊर्जा खपत गरेको तथ्यांकका आधारमा रकम तिरे पुग्छ। ‘बिजुली चुहावटका अधिकांश फाइल छुट बिलअन्तर्गत आउँछन्’, प्राधिकरण वितरण तथा ग्राहक सेवाका एक इलेक्ट्रिकल इन्जिनियरले भने।

प्राधिकरणले केन्द्रबाट विभिन्न क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रले वितरण गरेको मिटर छड्के जाँचका क्रममा मिटर बिगारिएको, मिटरमा खपत ऊर्जाको रेकर्ड उडाइएको, मिटरमा खपत हुने ऊर्जाको डिस्प्ले बन्द गरिएको, एउटा तार अर्कोमा जोड्नेजस्ता प्राविधिक गडबडी गराएर प्राधिकरणलाई नोक्सानी पु:याएको प्रतिवेदन अन्नपूर्णले पाएको छ।

प्रतिवेदनमा छड्के अनुगमन गर्दा खपत हुनुपर्ने ऊर्जाको रेकर्ड एक तिहाइमात्र भएको उल्लेख छ। यसलाई प्राविधिक भाषामा सीटी आउटेज र पीटी आउटेज भनिन्छ।

प्राधिकरणले ५० एमभीएभन्दा धेरै ऊर्जा खपत गर्ने ग्राहकलाई टाइम अफ डे (खपत समयअनुसार बिजुलीको भाउ फरक देखाउने) मिटर राखेको छ। यही मिटरलाई इलेक्ट्रिकल इन्जिनियरको सहायतामा ग्राहकले अनेक दाउमा कम बिजुली खपत गराएको देखाउने गर्छन्।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले मिटरमा गडबडी गर्नेको अनुसन्धान भइरहेको र छानबिन गरी कारबाही गरिने बताए। ‘हामीले भर्खर यो अभियान सुरु गरेका छौं’, उनले भने, ‘आगामी दिनमा अभियान सशक्त रूपमा अघि बढ्नेछ।’

तीन साताअघि प्राधिकरणको केन्द्रीय कार्यालयअन्तर्गतको विद्युत् चुहावट तथा नियन्त्रण महाशाखाले गरेको फिल्ड अनुगमनमा अधिकांश ठूला उद्योगले कम बिजुली खपत गरेको देखिएको छ।

वीरगन्जका एक दर्जन उद्योगले टीओडी मिटरमा प्राविधिक तवरले दुरुस्त हुने गरी विभिन्न तार जडान गर्नुपर्नेमा जथाभाबी तार छिराएर (रिभर्स) कम बिजुली खपत गरेको देखाएको भेटिएको छ।

मिटरमा प्राविधिक गडबडी गराएर प्राधिकरणलाई करोडौं रुपैयाँ घाटा पारेका वीरगन्जका उद्योगहरूमा अन्नपूर्ण स्टिल इन्डस्ट्रिज, आदर्श पोली प्लास्टिक प्रालि, जगदम्बा सिमेन्ट, सनराइज फुड, नेसनल हेल्थ केयर, क्वेयस्ट फारमा र मीनाक्षी प्रडक्ट छन्।

त्यसैगरी वीरगन्जकै ओम एग्रो प्रडक्ट र आदर्श आयल इन्डस्ट्रिजले पनि मिटरमा प्राविधिक गडबड गराई कम बिजुली खपत गराएको भेटिएको छ।

सम्बन्धित खबरहरु