praja७ फागुन, काठमाडौं । प्रजातन्त्र दिवस बिहीबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ भने देशभर विभिन्न कार्यक्रम तय भएका छन् ।

प्रजातन्त्र दिवसमा राष्ट्रपतिको शुभकामना

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति डा. रामवरण यादवले बदलिँदो परिवेशमा लोकचाहाना अनुसार सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए । डा. यादवको सन्देशमा भनिएको छ-‘हामी सबै किसिमका आरोह-अवरोह पार गर्दै आएका छौँ, यी सबै भोगाइ र अनुभवबाट हामीले अन्तरिम संविधान २०६३ ले निर्दिष्ट गरेका मूल्य मान्यतालाई कदर गर्दै सहमतिका साथ साझा विचार निर्माण गरी संविधान बनाउनुको विकल्प छैन ।’

नेपालका राजनीतिक दल, नेतृत्व र देश समाजप्रति उत्तरदायी नागरिक सबैले संविधान निर्माणको पुनित कार्यलाई प्रथमिकता दिनुको विकल्प नभएको यादवले बताएका छन् ।

प्रजातन्त्रका लागि ज्यानबाजी लगाउने सहिदप्रति श्रद्धाञ्जलि एवम् नेपाली जनताका लागि चिरस्थायी उपहारका रूपमा हामी सबै मिलेर नयाँ लोकतान्त्रिक संविधान सकेसम्म चाँडो जारी गर्न सकियोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच, उपरराष्ट्रपति परमानन्द झाले प्रजातन्त्र दिवसको अवसरमा २००७ सालको महान् जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले राणा निरङ्कुश जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री कोइरालाद्वारा शुभकामना
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले लोकतान्त्रिक शासनको स्थापना र विकासका लागि गरिएका २००७ सालको जनक्रान्ति, २०४६ सालको जनआन्दोलन, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन सहित विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्वान्जली अर्पण गरेका छन् । घाइते भएका ज्यूदा सहिदको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सहिद परिवार र लोकतन्त्रको प्राप्तीको लडाईमा संलग्न प्रजातन्त्रका सेनानीहरूप्रति उच्च सम्मान प्रकट गरेको प्रधानमन्त्रीद्वारा जारी गरिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

‘लोकतन्त्रको स्थापना र जनताको हक अधिकारका लागि हामीले अहिलेसम्म गरेका संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरेर संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारीलाई परिणाममा पुर्‍याउन म संविधानसभामा रहनुभएका र संविधानसभा भन्दा बाहिरका राजनीतिक दलसँग अपिल गर्दछु’ प्रधानमन्त्री कोइरालाद्वारा जारी सन्देशमा भनिएको छ ।

सम्बन्धित खबरहरु