७ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाको एजेन्डा वि.सं २००७ साल देखिकै भएको बताएका छन् । प्रधानमन्त्रीले सहमति, सहकार्य, एकता र मेलमिलापका आधारबाट नयाँ संविधान जारी गरी देशलाई समृद्धिमा लैजाने बताएका छन् ।
विहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवसका समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान बनाएर देशको गरिबी र बेरोजगारी अन्त्य गर्ने बताए ।
उनले संविधानसभाभित्र र बाहिर रहेका सबै दलसँग सम्वाद जारी राखेको जानकारी पनि दिए । नयाँ संविधानमा सबै जाति, भाषा, धर्म, लिंगका अधिकार सुरक्षित रहने उनले बताए ।
नेपालका सबै क्रान्तिहरुको जननी ००७ सालको क्रान्ति भएको भन्दै उनले ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्दै नयाँ संविधान जारी हुने बताए । उनले संविधानसभा ००७ सालमा बिजारोपण भएको बताए ।
प्रधानमन्त्री कोइरालाले संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न आग्रह पूर्वाग्रह त्याग्न र आपसी असहमति अन्त्य गर्न सबैपक्षलाई आह्वान गरे ।
विश्वभरका लगानीकर्ता नेपालमा लगानी गर्न लामबद्ध भएको दाबी गर्दै प्रधानमन्त्री कोइरालाले संविधान बनाएर आर्थिक विकासमा नलागेसम्म देशबाट गरिबी र बेरोजगारी अन्त्य गर्न नसकिने धारणा राखे ।
लोकतान्त्रिक शासन पद्धतिमा देशलाई डोर्याउन सबैको साथ र सहयोग पाउने उनले विश्वास समेत व्यक्त गरे ।
वीपी कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेर मन्तव्य राख्न सुरु गरेका प्रधानमन्त्री कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनका सबै ज्ञात अज्ञात सहिदलाई श्रद्धान्जली तथा प्रजातन्त्रका सेनानीहरुप्रति सम्मान प्रकट गरेका थिए ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभा अध्यक्ष, सरकारका मन्त्रीहरु, सभासदहरु, सुरक्षा निकायका प्रमुखहरु र कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता थियो ।