७ फागुन, डिसी । क्यानाडाका लागि नव नियुक्त नेपाली राजदूत कालीप्रसाद पोखरेलले क्यानाडाका गभर्नर जनरल डेविड जोन्सटन समक्ष ओहदाको प्रमाण पत्र बुझाएका छन् ।
ओटावास्थित गभर्नर जनरलको आवासमा बिशेष समारोहकाबीच नेपालका बिशेष राजदूत तथा पूर्णाधिकारी रुपमा ओहदाको प्रमाण पत्र बुझाईएको ओटावा नेपाली राजदूतावासले जनाएको छ l
उक्त ओहदाको प्रमाणपत्र बुझाउदै राजदूत पोखरेलले नेपालका राष्ट्रपति रामवरण यादव तथा प्रधानमन्त्री सुशील कोइरालाले पठाएको शुभकामना सन्देश पेश गरेका थिए । पोखरेलको ओहदाको प्रमाणपत्र बुझ्दै जोन्सटनले शुभकामना ब्यक्त गरेका थिए ।
बिशेष कार्यक्रमपछि राजदूत पोखरेल तथा क्यानाडाका गभर्नर जनरलसँग छुट्टै बैठक बसेको थियो । उक्त भेटघाटमा दुई देशबीच रहेको कुटनैतिक सम्बन्धकोबारेमा चर्चा गरिएको थियो l दुई देशले अझ राम्रो सम्बन्ध बनाउन सकिने बिषयमा छलफल भएको विज्ञप्ति मार्फत उक्त जानकारी गराईएको छ l
जोन्सटनले राजदुत पोखरेलको आगमनसँगै नेपाल र क्यानाडाबीच बिशेष गरि ब्यापार तथा जनताबीच सम्बन्ध अझ प्रगाढ हुने विश्वास ब्यक्त गरे ।
राजदूत पोखरेलले नेपाल र क्यानाडाबीच १९६५ देखि नै कुटनैतिक सम्बन्ध स्थापना भएपछि एकआपसमा भएको समझदारी र सहयोगप्रति खुशी व्यक्त गरे ।
राजदूत पोखरेलले दुई पक्षीय सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय कुटनैतिकहरुको भ्रमण वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले यही वर्ष नेपाल र क्यानाडाबीच कुटनैतिक सम्बन्ध स्थापनाको ५० बर्ष पूरा भएको अवसरमा दूतावासले विभिन्न प्रकारका कार्यक्रमको आयोजना गरी उत्सव मनाउने बारेमा थप जानकारी गराएका थिए । चार दशकदेखि क्यानाडाले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउदै आएकोमा क्यानाडा सरकारलाई धन्यबाद दिए ।
राजदुत पोखरेलले क्यानाडा सरकार तथा निजी क्षेत्रसँग काम गर्न चाहेको र बिशेष उर्जा तथा नेपालको आधारभूत विकास, व्यापार, पर्यटन र अन्य क्षेत्रमा काम गर्न चाहेको जानकारी गराए ।
उक्त अवसरमा क्यानाडाकी प्रमुख प्रोटोकल एन्जेला बोगडन, क्रिस्चिन म्याकलिन टार, प्रमुख कार्यकारी तथा अन्य बिशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूत पोखरेलको साथमा श्रीमती, छोराछोरी, आफन्त तथा साथीभाइहरूको उपस्थिती थियो ।