७ फागुन, इलाम । जिल्ला विकास समिति इलामले गजुरमुखी–९ का अतिविपन्न महिलालाई बाख्रा र बङ्गुरपालनका लागि पाँच लाख अनुदान उपलब्ध गराएको छ ।
जिविसले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममार्फत विपन्न महिलालाई आयआर्जन गरी जीवनस्तर उकास्न सहयोग पुगोस् भन्ने उद्देश्यले अनुदान उपलब्ध गराएको हो ।
जिविसले नागरिक सचेतना केन्द्रमार्फत अनुदान उपलब्ध गराएको गाविस सचिव लक्ष्मण ढुङ्गेलले जानकारी दिए। अनुदान पाएपछि बाख्रा तथा बङ्गुरपालनका लागि स्थानीय चन्द्रमाया राईको अध्यक्षतामा ११ सदस्यीय बाख्रा तथा बङ्गुरपालन महिला समिति गठन गरिएको छ । समितिको सचिवमा गङ्गा राई र कोषाध्यक्षमा अञ्जिला राई चयन भएकी छन् ।
यही आर्थिक वर्षमा उक्त अनुदानबाट उन्नत जातका बाख्रा र बङ्गुर खरिद गरी पाल्नुपर्ने नागरिक सचेतना केन्द्रले जनाएको छ । जिल्लाको पनि दुर्गम र गाउँ विकास समितिको पनि अतिनै दुर्गम गजुरमुखी–९ का विपन्न महिलालाई छनोट गरी जिविसले लगानी गरेकामा हर्षित भएको समितिकी अध्यक्ष चन्द्रमाया राईले बताइन । रासस