काठमाडौं । महोत्तरीका ६२ वर्षीय अरुण कोइरालालाई बुधबार राजधानीको बबरमहलस्थित आठ लेन सडकको जेब्राक्रसमै मोटरसाइकलले ठक्कर दियो।

मध्याह्न १२ बजेतिर जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भए। रफ्तार बढाएर भाग्न खोज्दा मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको पर्यटक बसमा ठोक्कियो। मोटरसाइकलमा पछाडि बस्ने यात्रुको ठाउँको ठाउँ ज्यान गयो।

सुरक्षित रूपमा बाटो काट्न सडकमा तोकिएको ठाउँ हो जेब्राक्रसिङ। तर, राजधानीमा रहेका सडकका जेब्राक्रसिङमा ढुक्क होइन, झन् डराउनुपर्छ। किनकि, जेब्राक्रसमा चालकले झन् रफ्तार बढाएर सवारी चलाउँछन् र दुर्घटनाको खतरा उत्तिकै बढाउँने गरेको नागिरकमा खबर छ ।

मंसिर अन्तिम साता १४ वर्षीया स्नेहा शाह पनि जेब्राक्रसिङमै दुर्घटनामा परिन्। विद्यालयबाट फर्कने क्रममा तीनकुनेमा तोकिएको स्थानबाटै बाटो काटिरहेकी उनलाई काभ्रे मिनिबस व्यवसायी संघद्वारा सञ्चालित बा२ख २२०७ नम्बरको बसले ठक्कर दियो। काठमाडौंको वर्षा स्कुलमा ९ कक्षामा अध्ययनरत स्नेहाको टाउकोमा चोट लाग्यो। लामो समय नर्भिक अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ।

‘गाडी निकै पर थियो, तैपनि हात उठाँउदै जेब्राक्रसबाट बाटो काटिरहेकी थिएँ,’ स्नेहाले नागरिकसँग भनिन्, ‘बेस्सरी आएको बसले बाटो काटिनसक्दै मलाई हानिहाल्यो। भुइँमा लड्न पुगेँ।’ जेब्राक्रसबाट बाटो काट्दा सुरक्षित हुन्छ भन्ने पढेकी स्नेहा त्यहीँ दुर्घटनामा परेकी थिइन्।

अरुण र स्नेहा दुर्घटनामा पर्नुको कारण एकै थियो– बसको तीव्र गति। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जेब्राक्रसमा मात्र सानाठूला गरी दैनिक तीनदेखि पाँच दुर्घटना हुने गरेका छन्। जेब्राक्रसमा अहिलेसम्म भएका दुर्घटनामा मानवीय क्षति उल्लेख्य नभए पनि चालकले लापरबाहीपूर्वक तीव्र गतिमा गाडी हुइँक्याउँदा दुर्घटना दर भने बढिरहेको ट्राफिक प्रहरी बताउँछन्।

पैदल यात्रुले ढुक्क भएर सडक पार गर्ने जेब्राक्रसमै किन दुर्घटना बढिरहेका छन् त?

‘जेब्राक्रसमा बढी दुर्घटना हुनुमा चालकले रफ्तार बढाउनु प्रमुख कारक देखिन्छ,’ महानगरीय ट्राफिक महाशाखा प्रमुख डिआइजी जयबहादुर चन्दले भने, ‘यस विषयमा हामीले विस्तृत अनुसन्धान सुरु गरेका छौं।’ जेब्राक्रसमा रफ्तार कम नगर्ने र पैदल यात्रीलाई पेलेर चलाउनेलाई कारबाही अभियान चलाउन लागेको पनि उनले जानकारी दिए।

डिआइजी चन्दका अनुसार जेब्राक्रस आउनुभन्दा केही मिटरअगाडिबाटै चालकले सवारीको गति कम गर्दै लानुपर्ने नियम छ। अधिकांश चालक भने केही मिनेटका लागि हतार गरेर झन् रफ्तार बढाउने गर्छन्।

सवारी तथा यातायात व्यवस्था ऐनको धारा १३२ मा जेब्राक्रसमा सवारी रोक्नुपर्ने उल्लेख छ। यसो नगरे २ सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना लाग्छ। अझ जेब्राक्रसमा दुर्घटना भए त दुर्घटना गराउने चालकलाई ज्यानमुद्दासमेत लगाउन सकिने कानुनी व्यवस्था छ। तर, ऐन कार्यान्वयन हुन नसक्दा चालक जेब्राक्रसप्रति जिम्मेवार छैनन्। ट्राफिक प्रहरीले जेब्राक्रसमा लापरबाही गर्ने र रफ्तार बढाउने चालकलाई कारबाही गर्न नसक्दा चालकको मनपरी बढेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ बताउँछन्।

नियमअनुसार चालकले जेब्राक्रस आउन लागेलगत्तै बसको रफ्तार कम गर्दै जानुपर्ने हुन्छ र जेब्राक्रसमा सवारी रोक्नुपर्छ। चालकले जेब्राक्रसमा पैदलयात्रु नभए पनि रफ्तार घटाएर दायाँबायाँ हेरेर मात्र सवारी अगाडि बढाउनुपर्छ। तर, यहाँ चालकले जेब्राक्रसिङमा पैदल यात्रुले बाटो काट्न लागेका देखे झन् बसको रफ्तार बढाउने र चर्को स्वरमा हर्न बजाउँदै पैदल यात्रुलाई तर्साउने गरेको महाशाखाका पूर्वप्रमुख डिआइजी केशव अधिकारीले बताए।

‘सबै स्थानमा ट्राफिकले हेर्न भ्याउँदैनन्, चालकले त्यस्तो बेला नै लापरबाही गरिहाल्छन्,’ उनले भने, ‘जेब्राक्रस आउन लागेको थाहा पाएपछि ब्रेक लगाउनुपर्नेमा उल्टै एक्सिलेटर थिच्छन् र रफ्तार बढाउँछन्। जसका कारण पैदल यात्रुले जेब्राक्रसमै ढुक्कले बाटो पार गर्न पाएका छैनन्।’ रफ्तार बढाउने चालकमा गन्तव्य पुग्ने हतारभन्दा बढी पैदल यात्रीलाई हेप्ने बानी परेको उनले सुनाए।

जेब्राक्रसमा चालकले रफ्तार बढाउने गरेको ड्युटीमा खटिएका ट्राफिक प्रहरीसमेत स्विकार्छन्। ललितपुर ट्राफिक प्रहरीवृत्तका प्रमुख सीताराम हाछेथूका अनुसार ट्राफिक नभएको क्षेत्रमा जेब्रा क्रसिङ देखियो भने चालकले रफ्तार बढाउने गरेको पाइन्छ। ‘बाटो काट्ने मानिसलाई रोक्दा ढिलो हुन्छ भन्दै पेलेर चलाइरहेका हुन्छन्,’ उनले भने, ‘यसले जेब्राक्रसमा पैदल यात्रीलाई ठक्कर दिने घटना बढेका हुन्।’

उनका अनुसार जेब्राक्रसमा हिँडेको मान्छेलाई गाडीले हान्नु सडकको पेटीमै गएर किचेजस्तै हो। उनले जेब्राक्रस भएका क्षेत्रमा ट्राफिक लाइट नहुँदासमेत समस्या भएको सुनाए।

भाडाका सवारी मात्रै नभई निजी सवारीचालकले समेत यस्तो गल्ती गरिरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भाडाका सवारीमा आफूभन्दा अगाडि रहेको बसले अगाडिको बसस्ट्यान्ड वा चोकमा यात्रु पाउँछ भन्ने लोभले अस्वस्थ प्रतिस्पर्धा गर्दा जेब्राक्रसको समेत बेवास्ता गर्दै बस हुइँक्याउने क्रम बढ्दो छ।

सम्बन्धित खबरहरु