moneyफागुन, काठमाडौं । चालू आर्थिक वर्ष नेपालको व्यापार घाटा सात खर्ब रुपैयाँ नाघ्ने भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्ममा कुल व्यापार घाटा तीन खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ पुगिसकेको छ।

चालू आर्थिक वर्षको सुरुदेखि नै नेपालमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्ने क्रम सुरु भएकोले कुल वस्तु आयातको रकममा केही कमी आएको छ। तर, अन्य उपभोग्य वस्तुको आयात भने नघटेको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यसैले चालू आर्थिक वर्षको अन्तसम्ममा व्यापार घाटा सात खर्ब पुग्ने भएको हो। पेट्रोलियम पदार्थको भाउ अन्तर्राष्ट्रिय बजारमा फेरि अघिल्लो वर्षझैं प्रतिब्यारल सय डलर हाराहारी पुगे नेपालको व्यापार घाटा सात खर्ब पनि नाघ्ने देखिन्छ।

अघिल्लो आर्थिक वर्ष २०७०/७१ मा मात्र नेपालले एक खर्ब ३१ अर्बको पेट्रोलियम पदार्थ भारतबाट आयात गरेको थियो। तर, देशको कुल निर्यातको पैसाले पनि पेट्रेालियम पदार्थको बिल तिर्न नपुग्ने गरी ९० अर्ब २९ करोडको मात्र निर्यात गरेको थियो।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा पनि नेपालले ५६ अर्ब ५२ करोडको पेट्रोलियम पदार्थ आयात गरिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ नबढे पनि चालू आर्थिक वर्षमा नेपालले एक खर्ब १२ अर्बको पेट्रोलियम पदार्थ आयात गर्ने प्रक्षेपण गरिएको छ।

कुल वार्षिक निर्यात भने ९० अर्बको हाराहारीमा मात्रै हुने देखिन्छ। तत्कालीन सरकारले दुई वर्षअघि नै निर्यात प्रतिस्थापन गर्ने र एक खर्ब निर्यात पु:याउने लक्ष्य राखे पनि चालू आर्थिक वर्षभित्र पनि एक खर्ब निर्यात नहुने राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

राष्ट्र बैंकका अनुसार पछिल्लो सात वर्षमा व्यापार घाटा ह्वात्तै बढेर करिब चार गुणा धेरै भएको छ। आर्थिक वर्ष २०६५/६६ मा जम्मा दुई खर्ब १७ अर्ब ३२ करोड व्यापार घाटा रहेकोमा चालू आर्थिक वर्षसम्ममा करिब चार गुणा बढेर सात खर्ब हुने देखिएको हो।

सम्बन्धित खबरहरु