काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टीले आफ्नै उपाध्यक्ष रेणुदेवीले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने भन्दै लिएको अभिव्यक्तिको खण्डन गरेको छ ।
बिहीबार एक विज्ञप्ती जारी गर्दै भाजपाले उनको भनाईको औपचारिक रुपमै खण्डन गरेको हो । यसअघि बुधबार भारतीय दूतावासले पनि रेणुदेवीको भनाई उनको व्यक्तिगत भएको भन्दै खण्डन गरेको थियो ।
भाजपाका राष्ट्रिय महासचिव राम माधवले विहीबार विज्ञप्ती जारी गर्दै उपाध्यक्ष रेणु देवीले नेपाल भ्रमणका क्रममा दिएको अभिव्यक्ति पार्टी नीति विपरित भएको स्पष्ट पारेका छन् ।
रेणुदेवीका भनाईहरु व्यक्तिगत भएको भन्दै उनले यस भनाईले नेपाल सम्बन्धि भाजपाको नीति प्रतिविबिम्बित नगर्ने उल्लेख गरेका छन् ।
विज्ञप्तीमा भाजपाले नेपाली जनताको सार्वभौमसत्ताको सम्मान गर्ने र नयाँ संविधानको मस्यौदामा नेपाली जनताले लिने निर्णयको सम्मान गर्ने उल्लेख छ ।