बनेपा । काभ्रेपलाञ्चोक जिल्लामा ११ देखि १३ वर्षका किशोरीलाई विभिन्न विद्यालयमा नै पुगेर पाठेघरमा हुने क्यान्सरविरुद्धको (एचपिभी) खोप निःशुल्क दिइएको छ ।
विद्यालयको कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने पाँच हजार ७४० छात्रालाई पाठेघरको क्यान्सरबाट बचाउन तीनपटकसम्म सो खोप दिएको नेपाल नेटवर्क फर क्यान्सर ट्रिटमेन्ट एन्ड रिसर्चका सचिव राधाप्यारी नकर्मीले जानकारी दिए ।
अस्ट्रेलियन सरभाइकल क्यान्सर फाउन्डेसनको सहयोगमा दिइएको सो खोप तीनपटकसम्म लगाउन एक किशोरीका लागि झन्डै रु ४० हजार खर्च हुने उल्लेख गर्दै सचिव नकर्मीले जिल्लाका अधिकांश गाविसमा रहेका विद्यालयका किशोरीलाई खोप लगाइएको बताए ।
उहाँले भन्नुभयो–“यो खोप यौनसम्पर्कअघि नै लगाउनुपर्छ होइन भने प्रभावकारी नहुन सक्छ ।” क्यान्सर रिसर्च तथा ट्रिटमेन्ट बनेपाका अनुसार २००८ देखि अहिलेसम्म पनि सो खोप लगाउने काम जारी रहेको छ । सचिव नकर्मीले देशभरका ११ जिल्लामा ३० हजारभन्दा बढी किशोरीलाई त्यस्तो खोप निःशुल्क दिइएको जानकारी दिँदै यो वर्ष थप पाँच हजार किशोरीलाई सो खोप दिइने बताए ।
तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा ३० देखि ६० वर्षका १५ हजारभन्दा बढी महिलाको स्क्रिनिङ गरिएको छ । यीमध्ये ३९ प्रतिशतमा पाठेघरको सङ्क्रमण देखिएको छ । त्यस्तै नौ प्रतिशत महिला आङ खस्ने समस्याबाट पीडित देखिएको तथ्याङ्कमा उल्लेख छ ।
रिसर्चमा कार्यरत प्रोफेसर डा नीता सिंहले अहिले सबैभन्दा ठूलो समस्या पाठेघरको क्यान्सरको समस्या भएको उल्लेख गर्दै पाठेघरको क्यान्सरबाट बच्न महिलाका लागि चुनौती भएको बताइन् ।
यसैबीच नेपाल नेटवर्क फर क्यान्सर ट्रिटमेन्ट एन्ड रिसर्च र राष्ट्रिय तालिम केन्द्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य विभागको आयोजनामा बिहीबारदेखि बनेपामा एक साता लामो तालिम सुरु भएको छ । रासस