८ फागुन, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत दारेचोक–४ मा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
नारायणगढबाट मुग्लिन जाँदै गरेको लु१ख ८६१५ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना४ख ३००० नम्बरको ट्रिपर एकआसपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रिपरका चालक मकवानपुर हाँडीखोलाका २४ वर्षीय प्रकाश सुनारको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बिहान साढे एक बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा राति ३ बजे मृत्युभएको प्रहरीले जनाएको छ । ट्रिपरमा सवार अर्का घाइते मकवानपुर हाँडीखोला–१ का हरिचन्द्र घिमिरेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
भीरबाट खसेर युवकको मृत्यु
यसैबीच ओखलढुङ्गाको कटुञ्जेमा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । घरबाट ससुराली जानेक्रममा कटुञ्जे ८ मा रहेको भिरबाट लडेर श्रीचौर-३ का २६ वर्षका गोबिन्द कार्कीको ज्यान गएको हो । उनी भीरबाट लडेर करीब पाँच सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय बरुणेश्वरले जनाएकेा छ ।