गाउँवरिपरि हराभरा जंगल, नारायणी नदीको कलकलाउँदो पानी, थारु कलासंस्कृति, रैथाने खानपान तथा वन्यजन्तुसँग सिधै मितेरी गाँस्न पाइने वातावरण नै यो होम स्टेको आकर्षण हो ।

विमु अधिकारी
नवलपरासी, अग्यौली–५ अमलटारीमा होमस्टे सञ्चालन भएपछि गाउँको स्वरूपमै परिवर्तन देखिन थालेको छ । होमस्टेले गाउँबाट बिदेसिने क्रमलाई नै रोकिदिएको छ । खाडी पसेकाहरू पनि होम स्टेबाट जीवनस्तर उकासिने विश्वासले धमाधम गाउँ फर्कने क्रम बढेको छ । परिवारसँग घरमै बसेर होम स्टेमार्फत आयआर्जन हुन थालेपछि यसैतर्फ गाउँवासीको आकर्षण बढेको होम स्टे सञ्चालक समितिका कोषाध्यक्ष चन्द्र महतोले बताए । उनले भने, ‘यो नयाँ सुरुवात हो । युवा बिदेसिएर शून्यजस्तै बनेको गाउँमा उनीहरूको चहलपहल क्रमशः बढ्दै छ । गाउँवरिपरि हराभरा जंगल, नारायणी नदीको कलकलाउँदो पानी, थारु कलासंस्कृति, रैथाने खानपान तथा वन्यजन्तुसँग सिधै मितेरी गाँस्न पाइने वातावरण नै यो होम स्टेको आकर्षण हो । पहिलो वर्षमा नै अमलटारीले साढे सात हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्यायो । होम स्टेबाट एकै वर्ष गाउँले २५ लाख बढी रूपैयाँ आम्दानी गरेको छ । ‘आदिवासी थारु समुदायको परम्परा, रीतिरिवाज खानपिनको प्रत्यक्ष अनुभव सँगाल्न नै हाम्रो गाउँमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्छन्,’ चन्द्र महतोले भने, ‘विदेशीहरू विशेषगरी फिनल्यान्ड, अमेरिका, जापान र भुटानबाट धेरै आएको रेकर्ड छ । स्वदेशी पर्यटक पनि उत्तिकै आएकाले हाम्रो हौसला एकदमै बढेको छ ।’

‘होम स्टे सुरु हुनुभन्दा पहिले हामीमा सुस्तता थियो । गाउँवासी रुमल्लिएका थिए । महिला बिहानबेलुकी चुल्होचौको र पुरुष छहारीमा गफ चुटेर बस्थे अथवा अरूको खेतबारीमा काम गरेर साँझपख थकित मुद्रामा आँगन टेक्न आइपुग्थे । तर, अहिले पाहुनाको स्वागतसत्कार, खानपिन गराउने मात्र होइन, साँझपख कलासंस्कृति पनि पस्कनुपर्ने भएकाले महिलालाई भ्याईनभ्याई छ । पुरुषहरू महिलालाई सघाउन उत्तिकै बेफुर्सदिला बनेका छन् । एकदिन होम स्टेमा बस्न र बिहान–बेलुका खाना खान एक जोडीले दिनमा आठ सय तिरे पुग्छ । खाना खान मासुसहित प्रतिव्यक्ति १ सय ८० र डबल बेड रुमको ५ सय रूपैयाँ लाग्छ,’ होम स्टेका व्यवस्थापक देव महतोले जानकारी दिए । ‘साँझ नाचगानजस्ता सांस्कृतिक कार्यक्रम गर्न सबै पाहुनाले मिलेर ३ हजार रूपैयाँ तिर्नुपर्छ । होम स्टेमा पाहुनाले पूरै पारिवारिक वातावरणमा रम्न पाउँछन् । खानपान पनि होटलको जस्तो होइन, स्थानीय रूपकै पस्किइन्छ, उनले होम स्टेको विशेषताबारे बताउँदै भने ।’

बिहानको नास्तामा थारू परम्पराको चिचर र दिउँसो खानाको लागि सोजुवा रोटी तयार पारिन्छ । लोपोन्मुख चिचर होम स्टेसँगै मौलाउन पाएको छ । झट्ट हेर्दा भुटी भातजस्तो लाग्ने चिचर अनदी चामललाई उमालेर तयार पारिने स्वादिलो परिकार हो । होम स्टे पुग्ने पाहुनालाई होटलमा जस्तो टेबल कुर्सीमा राखेर होइन, आफैंले बनाएको गुन्द्रीमा बसाएर स्वादिष्ट भोजन गराइन्छ । परम्परागत रूपमा तयार पारिएको चिचर आफूलाई असाध्यै मीठो लागेको र जिब्रोमा झुन्डिएको तीलक ढकालले बताए । ‘चिचरलाई पोलेको गोलभेंडाको अचारमा चोपेर क्वाप्प खान क्या मज्जा आउँछ, जिब्रोको स्वाद नै फेरिन्छ । अमलटारको होम स्टेको प्रमुख आकर्षण नै चिचर हो,’ ढकालले जानकारी दिए । छेउमा बसेर सुनिरहेका होम स्टे सञ्चालक मानबहादुरले ढकालको कुरामा सही थाप्दै भने, ‘होम स्टे सञ्चालन नभएको भए हाम्रो परम्परागत नास्ता चिचर लोप हुन्थ्यो होला !’ अमलटारीमा होम स्टे सञ्चालन गर्ने महिला–पुरुष सबैले हाराहारी मासिक ३० हजार रूपैयाँ कमाइरहेको शान्ति चौधरीले बताइन् । उनले भनिन्, ‘अब दुईचार पैसा चाहिए पनि साहुको शरणमा जानुपर्दैन । हामी आफैं साहु हुँदैछौं । केटाकेटी स्कुल जान्छन् । विदेशी पाहुनासँग विदेशी भाषामा कुरा गर्न पनि थालेका छन् । अब गाउँको मुहार फेरिन्छ फेरिन्छ,’ शान्तिले ढुक्क बनेर भनिन् ।
अमलटारीमा आउने पाहुनाले हात्ती सफारीको आनन्द पनि लिन पाउने व्यवस्था गरिएको छ । नारायणी नदीतटमा बार लगाएर चारैतिर फैलिएको हरियो वनमा हात्ती चढ्नुको मजा बेग्लै छ । हात्ती चढेर विश्वबाटै लोप हुन लागेको एकसिंगे गैंडा, मृग, बँदेल र अन्य चराचुरुंगीले आलंकारिक बनाएको वन घुम्न पाउँदा कुन पर्यटकलाई आनन्द नलाग्ला ? हात्तीको लचकलचक चालसँगै आफूलाई ढाल्न सके लिंगे पिङमा झुलेको आनन्द आउने रहेछ । हात्तीबाट लडिएला कि, जंगलको रुखको हाँगामा ठोकिएला कि, गैंडा वा अन्य जनावरले आक्रमण गर्लान् कि भनेर जिउलाई अरिमुट््ठे बनाउँदा भने बेलुका ज्वरो नै फुट्लाजस्तो डर लाग्दो रहेछ । जिप, कारलगायत सुविधासम्पन्न सवारीसाधनबाट अमलटारीसँग मितेरी गाँस्न पुगेका आगन्तुकलाई सुरुमै बयलगाडा चढाएर गाउँको दृश्यावलोकन गराइने रहेछ । त्यतिखेरै पाउनालाई अमलटारीको हराभरा वन र नारायणी नदीमा बहेको हावाको स्पर्शले काउकुती लगाइसक्छ । त्यसमाथि चराचुरुंगीको गुञ्जायमान सुसेली र कबड्डी खेलमा झैं जनावरको फ¥याकफुरुकले परेली झिम्काउन नपाउँदै नारायणी तिरमा पर्यटकको न्यानो स्वागतमा बसेका हुन्छन् माझीदाइ । उनको ‘अतिथि देवो भव’ भावले ओतप्रोत भएको स्वागतले गदगद बनेर अमलटारी आइपुग्ने पाहुना लामो सास फेर्छन् । वनमा फलेफुलेका रुखबिरुवा, छेउमै सलल बगिरहेको नारायणी नदीले भुतुक्कै बनेका पाहुना मन थाम्नै सक्दैनन् । फूल र लटरम्म फलेको जामुन टिप्न चलमलाउन थाल्छन् । फोटो खिच्न चाहनेको हतारो र पोज दिनेको ढिलाइले सानोतिनो होहल्लै हुने रहेछ ।

अमलटारी होम स्टेको अर्को आकर्षण नारायणी नदीमा नौकाविहार हो । यति ठूलो आफ्नै देशको नदीमा आफैंले डुंगा चलाउन पाउँदा संसारै जितेजस्तो भान भयो । नारायणी नदीको कल्कलाउँदो पानीमा तरंगित नीलो आकाशमा सिमलका भुवाजस्तो बादलले कुँदिएका बुट्टामाथि डुंगा खियाउन पाउँदा मनमा उठेका भावनाले पाहुना पीडा, दुःख र दबाबविहीन बन्ने रहेछन् । जिउ हलुँगो भएर बादलसँगै उडिरहेजस्तो लाग्यो । नरहरिले भने, ‘पश्चिमतर्फ सुस्ताउन लागेको सुनगाभा घाम नारायणीसँगै बगिरहेको पो देखिन थाल्यो ।’ सूर्यलाई देख्दा कौतूहल झन् बढेर आउँदो रहेछ ।

डुंगा चालक चौधरीले झकझक्याएपछि मात्र आफू त्यहाँ रहेको बोध भयो । उनले औंलाले देखाउँदै भने– हेर्नोस् गोही । गोही प्रोजेक्टले संख्या बढाएपछि पानीबाट निस्केर घाम ताप्न हलचल नगरी बसेका गोही देख्दा नक्कली हो कि भन्ने भ्रम नै भयो ।

अहिले नवलपरासीका मुसहर माछा मार्न नारायणी नदी झर्दैनन् । गण्डकीकै किनारमा डुंगा अड्याएर बस्ने बोटेहरू पनि परम्परागत व्यवसायमा निर्भर छैनन् । कहिल्यै खेतीपाती नगरेका तथा घरगृहस्थीबारे समेत अन्य समुदायभन्दा फरक विचार राख्ने ती सम्प्रदायको जीवनशैली पछिल्ला केही वर्षयता बदलिएको छ । पाल तथा टहरामुनि बसेर तारन्तार बसाइ सरिरहने मुसहर अहिले घर बनाएर बस्न थालेका मात्र छैनन्, आफ्ना घरमा अपरिचित पाहुनालाई स्वागत गरेर आम्दानी गर्नसमेत पल्किएका छन् । नवलपरासीको अग्र्याैली गाविसस्थित बाघखोरमा होम स्टे सञ्चालन भएपछि त्यहाँका स्थानीयको जीविकोपार्जनमा उल्लेख्य सुधार देखिएको हो । ‘होम स्टेले एकातिर मानिसको आम्दानीमा व्यापक सुधार आएको छ भने अर्कातिर वन र जैविक विविधताको संरक्षणमा पनि टेवा पुगेको छ,’ होम स्टे व्यवस्थापन समितिका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले भने । होम स्टे सञ्चालन र अन्य व्यावसायिक उद्यमको विकासबाट प्रत्येक परिवारले मासिक औसत १५ देखि २५ हजार रुपैयाँ कमाइ गरिरहेको जानकारीसमेत उनले दिए । वन तथा भूसंरक्षण मन्त्रालय र डब्ल्युडब्ल्युएफ नेपालले सञ्चालन गरेको तराई भू–परिधि कार्यक्रम (ताल) ले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि २०७० जेठ ५ गतेबाट अमलटारी होम स्टे सञ्चालनमा आएको थियो ।

अहिले काठमाडौंदेखि कैलाली, कञ्चनपुरसम्मका आन्तरिक पर्यटक अमलटारी घुम्न पुग्छन् । विदेशी पर्यटकको संख्या पनि बाक्लिन थालेको सञ्चालक समितिले बताएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने त्यस क्षेत्रमा स्थानीयले गुद्रहढिकाहा मध्यवर्ती सामुदायिक वन पनि संरक्षण गरेका छन् । उनीहरू पर्यटकलाई सामुदायिक वनमा हात्तीसवार गराउँछन्, वन्यजन्तुको अवलोकन गराउँछन् । तालकै सहयोगमा तयार गरिएको माछापालन केन्द्रमा ‘माछा हन्टिङ’ गरेर मनोरञ्जन लिने अवसर पनि दिएका छन् । साँझमा थारू र बोटेका संस्कृतिबारे परिचय दिन्छन् । उनीहरूले लाठीनाच, बोटे समुदायको झर्मुनानाच र थारू ‘रिमिक्स’ प्रस्तुत गर्छन् । त्यस्ता प्रस्तुतिमा थारूसँगै बोटे र मुसहर समुदायका युवाको पनि समान सहभागिता हुने गरेको छ । ‘अहिले त भारत र खाडीमा गएर पसिना बगाउनुभन्दा व्यवसाय गरेर घरमै बस्ने भन्दै धेरै युवा स्वदेश फर्किसके,’ अध्यक्ष थारूले भने, ‘हामी उनीहरूका निम्ति झनै राम्रो आम्दानीको स्रोत खोज्न लागिपरेका छौं ।’ अमलटारी पुग्ने पर्यटकले सस्तो मूल्यमा स्थानीय उत्पादनको स्वाद लिन सक्छन् । धुले हाँस र माछाका परिकार पर्यटकले बढी रुचाएको होम स्टे सञ्चालकले बताए । माछापालनमा बोटे र मुसहर संलग्न छन् । थारूका घरमा हाँस र कुखुरा बढी पाल्ने गरिएको छ । समथर जमिनमा बेसार, मसला, तरकारी र अन्नबालीको खेती बढेको छ । उत्पादन भएका सबै वस्तु होम स्टेमा खपत हुने र मूल्य पनि राम्रो पाइने भएपछि व्यावसायिक कृषिको विस्तार तीव्र रूपमा भएको होम स्टे व्यवस्थापक धनीराम गुरौले बताए ।

सम्बन्धित खबरहरु