एजेन्सी । सयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुन आतंकवाद विरोधी विश्व सम्मेलनमा सहभागी हुने भएका छन् ।
यसै हप्ता संयुक्त राज्य अमेरिकाको ह्वाइट हाउसमा हुन लागेको उक्त सम्मेलनमा मुनको उपस्थिति हुनलागेको जनाइएको छ ।
पछिल्लो समय इस्लामिक स्टेट लगायतका आतंकवादी संघ संस्थाको क्रियाकलापमा बृद्धि भएको भन्दै संयुक्त राज्य अमेरिकाले सो सम्मेलनको आयोजना गरेको हो ।
ह्वाइट हाउस सम्मेलन नाम दिइएको सो सम्मेलन हालैका दिनमा विश्वमा देखा परिरहेको मुस्लिम अतिवादी समूह (आइएस) का विरुद्धमा गरिने आवश्यक कारबाहीको रणनीतिका लागि आयोजना गरिएको हो ।
सम्मेलनमा मुनले आतङ्कवाद विरुद्धको विश्वव्यापी कारबाहीका लागि आवश्यक सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रसंघद्धारा जारि गरिएको वक्तव्यमा भनिएको छ । बिहीबारबाट सुरु हुने सो सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।
विश्वका विभिन्न देशहरुको उपस्थिति र सहभागितामा हुने सो सम्मेलनमा आतङ्कवाद विरुद्ध गरिने कार्य र सहकार्यका विभिन्न कार्यक्रमहरुको बारेमा छलफल हुने छ ।