काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहसँग कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन् ।
शुक्रबारबाट राजधानीमा सुरु भएको १६ औ दक्षिण एसिया शान्ति अभियान कार्यक्रममा नेता नेपालले संसद पुनः स्थापना गर्ने समयमा पूर्व राजा ज्ञानेन्द्र शाहसँग कुनै पनि सम्झौता नभएको दावी गरेका हुन् ।
प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्रले तात्कालीन अवस्था दलहरु र आफूबीच भएको सहमति कार्यान्वयन गर्न माग गरेकोप्रति नेता नेपालको यस्तो टिप्पणी आएको हो ।
उनले तात्कालीन समयको आन्दोलनको नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला र आफू भएको भन्दै त्यस्तो कुनै सहमति र सम्झौता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।
नेता नेपालले तत्कालीन समयमा भारतका नेता करण सिंहले आफूहरुलाई बेवी किङ स्विकार गर्न आग्रह गरेपनि जनताको माग बमोजिम राजतन्त्रसँग संझौता नगरेको दावी गरे ।
नेता नेपालले स्थिरताका लागि संविधान वनाउने कार्यमा दलहरु गम्भीर वन्नुपर्ने भन्दै वार्ता तथा संवादमा आउन विपक्षीमोर्चालाई आग्रह गरे । उनले संविधान नबन्दा जनतामा निराशा छाएको भन्दै त्यसको निराकरणको लागि दलहरु जिम्मेवार भएर प्रस्तुत हुनपर्नेमा जोड दिए ।