जनबोली/८ फागुन, काठमाडौं । इजिप्टका २१ जना इसाईहरुको इस्लामिक स्टेट लडाकुहरुले शिर छेदन गरेपछी राष्ट्रपतिले हत्याको बदला लिने वताएका छन् । बन्धक बनाईएका इजिप्टका कप्टिक ईसाईहरुको हत्याप्रति आफ्नै तरिकाले प्रतिक्रिया जनाउने इजिप्टसँग अधिकार भएको त्यहाँका राष्ट्रपति अब्देल फतह अलसीसीले बताएका छन् । यसअघि लिबियाका इस्लामिक स्टेट लडाकुहरुले अपहरण गरेका इजिप्टका २१ जना इसाईहरुको शिर छेदन गरिरहेको एउटा भिडिओ देखा परेको थियो ।
सरकारविहीन रहेको लिबियामा इस्लामिक स्टेट लडाकुहरुले धेरै पटक आक्रमण गरेको दाबी गरेका छन् । यद्यपि विभिन्न समूहहरु क्रियाशील रहेको लिबियामा इस्लामिक स्टेट वास्तवमा कति शक्तिशाली छ भनी स्पष्ट छैन् । पूर्वी लिबियाको सिर्तेबाट गत डिसेम्बर र जनवरीमा कप्टिक ईसाई रहेका इजिप्टका ती कामदारहरु अपहरणमा परेका थिए ।
इस्लामिक स्टेटप्रति वफादार रहेको लिबियाका जिहादीहरुले शिर छेदन गरिएको भिडिओ अनलाइनमा राखेको बताईएको छ । राष्ट्रपति सीसीले भने, “अतिवादी विचारधारा र एउटै उद्देश्य बोकेका अतिवादी समूहहरुसँग इजिप्ट र सारा विश्व भीषण लडाइमा छ।” निकै सम्मानित मानिने इजिप्टस्थित धार्मिक संस्था अल अज्हरले शिर छेदनलाई बर्बर कार्यको संज्ञा दिएको छ । इजिप्टको कप्टिक चर्चले हत्याको इजिप्टले सावधानीपूर्ण बदला लिनेमा विश्वस्त रहेको जनाएको छ ।
तत्कालीन शासक कर्नेल गद्दाफीलाई सत्ताच्यूत गरिएपछि सन् २०११ देखि लिबियामा अस्थिरता रहिआएको छ । त्यसयता शक्ति हातमा लिने प्रयासमा दर्जनौं समूहहरुले लडाइ गरेका छन् । त्रिपोलीमा दुईवटा प्रतिद्वन्द्वी सरकार रहेको बताईन्छ । ब्रिटेनका विदेशमन्त्री फिलिप हामोण्डले हत्याको निन्दा गरेका छन् । आईतबार इजिप्टले आफ्ना नागरिकहरुमाथि लिबिया भ्रमणमा प्रतिबन्ध लगाएको छ । -बिबिसी ।