
सुर्खेत । सुर्खेतका बाढीपीडित डिप्रेसनको शिकार हुन थालेका छन् । सरकारी पुर्नबासमा भएको ढिलाइ र राहत प्रक्रिया रोकिएपछि उनीहरु डिप्रेसनको शिकार भएका हुन् ।
डिप्रेसनकै कारण यही फागुन २ गते गिरिघाट शिविरमा बस्दै आएका हरिहरपुर ५ का २२ वर्षका जीवन गन्द्रमाले आत्महत्या गरे । त्यसको चार दिन नबित्दै बुधबार साँझ तरंगाको साजघाट शिविरमा बस्दै आउनुभएकी ५० वर्षकी गौरा सुनारले विषपान गरी आत्महत्याको प्रयास गरिन् । यी सबै घटना डिप्रेसनकै कारण भएको गोरखापत्रमा खबर छ ।
शिविरमा बसेर परिवारको लालनपालन गर्न नसक्ने भएपछि पीडितले विरक्तिएर आत्महत्यासम् मगर्न थालेका छन् । गन्द्रमाको आत्महत्या र सुनारको आत्महत्या प्रयास परिवारको लालनपालन गर्न नसक्ने अवस्थाको नतिजा हो ।
विषपान गरेर अर्धचेत भएकी सुनारलाई बुधबार साँझ करिब ७ बजेतिर उपचारका लागि मध्यपश्चिम क्षेत्रीय अस्पतालमा लगिएको थियो । तर, अस्पतालले भर्ना नगरेपछि रातभर होटलमा राखेर जडीबुटी औषधि गरिएको र बिहीबार बिहानमात्रै प्रमुख जिल्ला अधिकारीको निर्देशनमा अस्पतालमा भर्ना गरिएको छ ।