इलाम । ‘रोगले भोलि भन्दैन, चर्पी आफैं बन्दैन’ जस्ता नारासहित झण्डै तीन करोड रुपैयाँ खर्चिंदासमेत प्रभावकारी भइ नसकेको खुला दिसामुक्त अभियानमा राष्ट्रपति रामवरण यादवलाई प्रमुख अतिथि बनाइ इलामलाई ‘खुला दिसामुक्त जिल्ला’ घोषणा गर्ने धुमधाम तयारी हुँदैछ ।
सदरमुकाममा हुने तीन घण्टाको घोषणा सभाका लागि करिव २८ लाख खर्चेर राष्ट्रपतिलाई स्वागत गर्न लागिएकामा धेरै अचम्भित छन् । त्यसैले भन्दैछन्, ‘राष्ट्रप्रमुखलाई साक्षी राख्दै अधुरो अभियान सफल भएको घोषणा गर्नुहुँदैन, यसले राष्ट्रप्रमुख र लोकतन्त्रकै गरिमा घट्छ ।’
निर्धारित कार्यक्रम फेरवदल नभए फागुन १४ गते राष्ट्रपति यादव इलाममा हुनेछन् र एउटा झूठ कुरा सुन्नेछन्, ‘यहाँका शतप्रतिशत परिवार सदस्यले शौचालयमा दिसा गर्दैछन् ।’ जिल्लाका ६३ हजार ६ सय ४९ अर्थात सबै घरधूरीमा शौचालय बनेको सुनाइरहँदा उनी पत्याउन बाध्य हुने नागरिकमा खबर छ ।
नपत्याउन् किन ! घोषणा सभाको तयारी यति व्यापक छ कि, आधाजसो सरकारी कार्यालयका कर्मचारी यसैमा केन्दि्रत छन् । सरोकारवाला मन्त्री, सचिवदेखि पूर्वाञ्चलका सबैजसो उच्च अधिकारी उपस्थित हुने सभालाई ‘भव्य’ बनाउन गाउँ-गाउँबाट जनसाधारण ओसार्ने तयारी भइरहेको छ ।
सबै घरमा शौचालय बनाइएको र परिवारका हरेक सदस्यले शौचालयमा दिसा गर्न थालेको सुनाउने तिथी नजिकिँदै गर्दा वास्तविकता भने अर्कै छ । ४३ गाविस र तीन नगरपालिका रहेको इलाममा अझै झण्डै २० प्रतिशत घरधुरीका सदस्यले शौचालयबाहिरै दिसा गर्ने पाइएको छ ।
यसले विकास बजेट कटौती गरेर शौचालयमा खर्चिएको ठूलो धनराशीमाथि त प्रश्नचिन्ह उठाएको छ नै, हतारमा ‘दिसामुक्त जिल्ला’ घोषणा गर्नुको औचित्य पनि नभएको देखिन्छ । पानीको अभाव, चेतनाको कमी र अव्यवस्थित बसोवासले अभियान अपेक्षाकृत सफल नभएको सरोकारवाला नै स्वीकार्छन् ।
‘पानी र परम्परागत बानीले अभियान पूर्णरुपमा सफल भएको छैन तर अधिकतर घरमा शौचालय बनिसकेको छ’ अभियानमा जिविसका स्रोत व्यक्ति राम रिमालले बिहिवार भने, ‘अभियानलाई निरन्तरता नदिएको खण्डमा बनेका शौचालयसमेत प्रयोगमा नआइ खेर जाने चुनौती उच्च छ ।’
‘इलामकै ऐतिहासिक दिन’ भन्दै राष्ट्रपतिसमक्ष यो तथ्य लुकाएर ‘जिल्लाका सबै घरका सदस्यले शौचालयमै दिसा गर्ने’ सुनाउने तयारी तीव्र छ । घोषणा सभामा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्री नारायण खड्का र ती मन्त्रालयका सचिवसमेत सहभागी हुँदैछन् ।
जिल्लास्थित दलका नेतावीच ‘शक्ति देखाउने’ अघोषित होड चुलिँदा निष्प्रभावी अभियानको घोषणामा राष्ट्रपति यादवले प्रमुख आतिथ्यता गर्ने अवस्था आएको हो । सुरुमा मन्त्रीद्वय सिंह र खड्का ल्याउने योजना भए पनि कुरा नमिलेपछि ‘इलामले गर्व गर्नुपर्ने कुरा’ भन्दै राष्ट्रप्रमुखलाई बोलाइएको हो ।
मालेका स्थानीय नेताले ‘जिल्लाका सभासदलाई बिर्सन नहुने’ भन्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङको प्रस्ताव गरेपछि काँग्रेस नेताहरुले नमानेको र राष्ट्रपतिलाई ल्याउने अवस्था आएको हो । शितल निवासस्थित कार्यालयले राष्ट्रपतिको इलाम भ्रमण स्वीकृत गरिसकेको जिविसले जनाएको छ ।
‘एउटा महत्पूर्ण अभियान सफल भएको घोषणा गर्न राष्ट्रप्रमुख आउनु गर्वको कुरा हो’ स्थानीय विकास अधिकारी तथा घोषणा सभा मूल व्यवस्थापन समिति अध्यक्ष मदन कोइराला भन्छन्, ‘सदरमुकाममा पहिलो भ्रमण भएकाले पनि यसको अर्थ ठूलो छ, त्यसैअनुसारको तयारी भइरहेको छ ।’
राजधानीबाट हेलिकप्टरमा आउने राष्ट्रपति सुरुमा धार्मिक पर्यटकीयस्थल माइपोखरी ओर्लनेछन् । संविधानसभा अध्यक्ष नेम्वाङ् पनि सँगै हुनेछन् । त्यहाँ १० मिनेट बिताएर हेलिकप्टरमै गढीथुम्कास्थित सेनाको कालीध्वज गणमा ओर्लेर राष्ट्रपति यादव र अध्यक्ष नेम्वाङ टुँडिखेलमा हुने घोषणा सभामा जानेछन् ।