काठमाडौं । जारी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले लज्जास्पद हार बेहोरेको छ । शनिबार बिहान भएको खेलमा वेष्ट इण्डिजले पाकिस्तानलाई १५० रनले पराजित गरेको हो ।
वेष्ट इण्डिजले दिएको ३११ रनको लक्ष्य पछ्याएको पाकिस्तान इतिहासमै खराब प्रदर्शन गर्दै १६० रनमा अलआउट भयो ।
पाकिस्तानका उमर अकमलले ५९, सोहिब मक्सुदले ५० र शहिद अफ्रिदीले २८ रनको योगदान गरेपनि अन्य कुनैपनि ब्याट्सम्यानहरुले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
पाकिस्तानका तीन जना ब्याट्सम्यानहरु शून्य रनमा पभेलियन फर्किएका थिए । वेष्ट इण्डिजका जेरोमी टेलर र आन्द्रे रुसेलले समान ३–३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
वेष्ट इण्डिजका दिनेश रामदिनले ५१, लेण्डी सिमोन्सले ५०, डारेन ब्राभोले ४९, आन्द्र रुसेलले ४२, मार्लोन स्यामुएल्सले ३८ र डारेन समीले ३० रनको योगदान दिए ।