Mahotariफागुन, महोत्तरी । मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमा शनिबार बिहान महोत्तरीको मटिहानी आइपुगेको छ ।

बुधबार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरी जीको डोला साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी भजनकीर्तनसहित सुरु भएको परिक्रमा बिहीबार सीमावर्ती भारतीय गाउँ कलानेश्वरमा र शुक्रबार भारतकै गीरिजास्थानमा बास बस्दै आज तेस्रो दिनको विश्रामका लागि महोत्तरीको मटिहानी आइपुगेको हो ।

बाजागाजा, साधु, नागा, नाचगानका साथ भगवान् राम र माता जानकीको डोला लिएर लाखौँको सङ्ख्यामा महोत्तरी प्रवेश गरेका परिक्रमालाई मटिहानीवासी तथा महोत्तरी प्रशासनले पूजापाठ गरी भव्य स्वागत गरेको छ ।

मटिहानीमा माता सीताको विवाहको बेला मटकोर विधि भएको सम्झना गरिँदै यहाँ परिक्रमाको तेस्रो पराव रहँदै आएको छ ।

मटिहानीमा प्रसिद्ध लक्ष्मी नारायण मठ, लक्ष्मी सरोवर रहेको छ भने यसले प्राचीनकालको दर्शन गराउँछ । परिक्रमा यात्रीको लागि मटिहानीस्थित लक्ष्मीनारायण मठले निःशुल्क भोजन, पानी, दाउरा, बिजुली र सय विघा भन्दा ठूलो आँपको बगैँचामा परिक्रमा यात्रीको बासको व्यवस्था मिलाएको छ ।

तेस्रो दिनमा महोत्तरीको मटिहानी आइपुगेको परिक्रमाका सहभागी यसपछि क्रमशः महोत्तरीको सदरमुकाम जलेश्वरमा चौथो पराव, मडैमा पाँचौ, धु्रवकुण्डमा छेठौँ, र कन्चनवनमा साताँै दिनको बास बसेर आठौँ दिनको पराव पुनः धुनषा जिल्लाको पर्वतामा बस्नेछन् ।

त्यसपछि धनुषाधाम, औरही, विशौल हुँदै पुनः भारतको कलानेश्वर र फागुन पुर्णिमाको दिन जनकपुर फर्कनेछ ।

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।

मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।

मिथिला महात्मयानुसार १८ औँ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवम् भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।

परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सितामढी, बैजनाथधामका साधुहरू उल्लेख्य रुपमा सहभागी भएका छन् ।

फागुन शुक्ल प्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पूर्णिमा तिथि पारी समापन गरिने परम्परा छ ।

विश्वकै सर्वाधिक लामो समय सम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरू भारतको कलना, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् र पूर्णिमा बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिने यात्रा सम्पन्न गरिन्छ ।

मिथिलाको महाकुम्भ समेत नामकरण गरिएको यस परिक्रमा यात्रामा नेपाल भारतका हजारौँ साधुसन्त, महन्थ र गृहस्थहरूको सहभागिता रहेको छ । रासस

सम्बन्धित खबरहरु