एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको ३० दलीय मोर्चाको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको दोश्रो पटकको आह्वानलाई थप सकारात्मक भन्दै यसलाई अघि बढाउन कुनै न कुनै रुपको वार्ता अघि बढाउने निर्णय गरेको हो । पहिले केही अनौपचारिक वार्ता भएपछि प्रधानमन्त्री र सत्तारुढ दलको आह्वानमा शीर्ष तहमा औपचारिक वार्ता हुन सक्ने ३० दलीय मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
‘अहिलेको सकारात्मक प्रक्रियालाई अगाडि बढाउन कुनै न कुनै तह रुपमा वार्तालाई निरन्तरता दिई शीर्ष तहको औपचारिक वातावरण निर्माण गर्न आग्रह गर्ने निर्णय भएको छ’ मोर्चाको शनिबारको निर्णयमा उल्लेख छ । ‘सहमतिमा संविधान निर्माण हुनुपर्ने आफुहरुको माग रहेकाले वार्ताको आह्वानलाई हामी सकारात्मक रुपमा लिन्छौं’ प्रवक्ता सिंहले भने ‘शीर्ष वार्ताका लागि केही अनौपचारिक बैठकपछि प्रधानमन्त्री र सत्तारुढ दलले थप पहल गर्नुपर्छ ।’
संविधानसभाको बैठक अनिश्चितकालका लागि रोकिएको र प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबारको आह्वान मार्फत सहमति भएमा बहुमतीय ब्यवस्था आफै खारेज हुने बताएपछि शनिबार यसबारे निर्णय गर्न ३० दलको बैठक बसेको थियो । यसअघि प्रधानमन्त्रीले पहिलो पटक लिखित पत्र मार्फत वार्ताका लागि बोलाउँदा मोर्चाले प्रक्रिया स्थगित गर्नुपर्ने र सहमतिबाट संविधान बनाउने प्रतिवद्धता जनाउनुपर्ने भन्दै वार्ता अस्वीकार गरेको थियो ।