जनबोली/९ फागुन, भक्तपुर । पूर्व प्रधानसेनापति रुकमाङगत कटवालले राजनीतिक दलका नेताहरुको बोलीको ठेगाना नहुँदा देश अन्योलको भुमरीमा फस्दै गएको बताएका छन् । रफत सञ्चार क्लव भक्तपुरमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कटवालले नेपाली जनता नेताहरुको सल्लाह, सहमतिको शब्द घोक्दा घोक्दा वाक्क दिक्क भइसकेको टिप्पणी गरे ।
उनले नेपाल र नेपालीको भन्दा नेताहरु दलगत स्वार्थ त्योभन्दा पनि आफन्तको घेरामा फस्दै गएकाले मुलुक पछाडि परिरहेको बताए । प्रजातन्त्र स्थापना भएको लामो समय बित्तिसक्दा पनि मुलुकमा प्रजातन्त्रको अभ्यास हुन नसकेको भन्दै दलहरुले पाँच वर्षभित्र कुनै कार्य गर्न नसकेको बताए । नेपालमा प्रजातन्त्रको जग नै नबस्दा प्रजातन्त्रले फस्टाउने अवसर पाएन, उनले भने प्रजातन्त्रलाई फस्टाउन जग बलियो बनाउनुपर्ने खाँचो रहेको छ । टोलटोल, गाउँगाउँमा प्रजातन्त्रको उपयोग हुन सकिरहेको छैन, उनले भने, प्रजातन्त्रमा सबैको जिम्मेवारीबोध र पारदर्शीता आवश्यक छ ।
प्रजातन्त्रका आधारभूत विषयबस्तुलाई राजनीतिक दलहरुले देशमा लागू गर्न नसकएको उनको तर्क छ । एक नेपाली नागरिको हैसियतले नेपालको राजनीतिक अवस्थालाई आफूले नजीकबाट नियालीरहेको बताउँदै उनले प्रजातान्त्रिक पद्धतिको जगदेखि माथिसम्म संरचनात्मक परिवर्तन नल्याएसम्म मुलुकमा कुनै किसिमको परिवर्तन नुहने दावी गरे ।
विभिन्न नामले आफूलाई प्रचार गरिरहेको बताउँदै उनले चाकरी, चाप्लुसी गरेर हात मोल्दै कुनै संवैधानीक पदमा नबस्ने तर नेपाली नागरिकका हैसियतले नेपालको विकास र परिवर्तनका निम्ति सदैव अग्रसर हुने बताए ।
विश्वमा सेनाले संविधान र जनताको विपक्षमा काम गरेको उदारणा भए पनि नेपालमा संविधान र राष्ट्रियताको पक्षमा खडा भएकोे बताउँदै नेपालको राजनीतिले यु टर्न लिएको उनको भनाई छ ।
उनले देश संघीयतामा प्रवेश गरिरहेको अवस्थामा हरेक राज्यहरु सक्षम नभएका खण्डमा एक प्रदेशले अर्को प्रदेशलाई नाकाबन्दी गर्न सक्ने खतरा रहेको औंल्याउँदै यसतर्फ सरोकारवालाहरु सचेत रहनुपर्नेमा जोड दिए ।
उनले उचाईमा बस्ती र गहिराईमा खेतीको नीतिलाई अवलम्बन गर्न नसक्दा आगामी दिनमा उपत्यकालगायत अन्य स्थानमा समस्या देखापर्ने अवस्था आउन सक्ने उनले सुझाएका थिए ।
दलहरुले घोषणपत्रअनुसार कार्य गर्न नसक्दा नेपाली जनताले विदेशमा रगत र पसिना बगाउनुपरेको बताउँदै उनले रोजगारी नपाएर विदेशमा रगत पसिना बगाउनु नेपालीको लागि दुःखद भएको चर्चा गरेका थिए ।