जनबोली/१० फागुन, काठमाडौ । राजधानीको ट्राफिक ब्यवस्थापनका लागि सुुरु गरिएको सडक विस्तार कार्य अहिले तीन वर्षअघि सुरु गरिएको सडक विस्तारको काम ५० प्रतिशत मात्र पूरा भएको छ । सडक विस्तारको मुख्य जिम्मा पाएको उपत्यका विकास प्राधिकरणले विविध कारणले काम तीब्र हुन नसकेकोको स्वीकार गरेको गोरखापत्रमा खबर छ ।

उपत्यका विकास प्राधिकरणका अनुसार हालसम्म दुई सय किलोमिटर सडक विस्तार गरिएको छ । जसमध्ये काठमाडौमा १६७ किमि, ललितपुरमा ३० किमि र भक्तपुरमा तीन किमि सडक विस्तार गरिएको छ । विस्तार गरिएको सडकमध्ये १२० किमि कालोपत्रे गरिसकिएको छ । सडक विस्तारको काम सवै पक्ष तथा निकायसँग जोडिएकाले पनि त्यति सरल नहुने प्राधिकरणका नायव विकास आयुक्त डा.भाइकाजी तिवारीको भनाइ छ ।

प्राधिकरणका अनुसार, सूचना गरिसकेपछि घरधनीले घर भत्काउन ढिलाई गरिदिन्छन् । सडक विस्तारको सुरुका दिनमा स्थानीयहरु अवरोधमै उत्रिएका थिए । विरोध पनि गरे । तर अहिले भने अदालत जाने र अदालतको आदेश लिएर घर भत्काउन ढिलाई गरिदिनेको संख्या बढेको बताइन्छ । ‘तत्काल  घर नभत्काउन अदालतको आदेश लिएर बस्ने तथा मुद्दा तन्काएर विस्तारको काममा ढिलाई गरिदिने प्रवृत्ति बढ्दै गएको छ । त्यसले पनि काम तीब्र हुन नसकेको डा. तिवारी बताउँछन् । उपत्यकाको सड विस्तार पाँच सय किमि विस्तार गरिने लक्ष्य छ ।

दुई सय किलोमिटर विस्तार गरिसकिएकोले अझै तीन सय किलोमिटर विस्तार गर्न बाँकी छ । जसमा ५० किमि सडक विस्तार गर्न रेखांकन गरिसकिएको र ५० किमि सडकमा चिन्ह लगाउने काम भइरहेको प्राधिकरणले जनाएको छ । तीन वर्षमा दुई सय किलोमिटर सडक विस्तार गरिएको छ भने पाँच सय किलोमिटर सम्पन्न गर्न कम्तिमा अझै साढे तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबरहरु