जनबोली/१० फागुन, काठमाडौ । नेपालमा स्वाइनफ्लु भित्रिन नदिन सीमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले भारतबाट मासुजन्य पदार्थ नल्याउन सर्वसाधारणसँग अाग्रह गरेकाे छ ।
छिमेकी मुलुक भारतको उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान र नयाँ दिल्लीमा स्वाइनफ्लु महामारीको रुपमा देखा परेपछि बाँकेका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन सुरु गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले भारत आवतजावत गर्नेहरुमाथि विषेश निगरानीमा राख्न थालेको छ । निगरानीका लागि सीमा क्षेत्रमा रहेको ईवोला भाईरस निगरानीको लागि खोलिएको हेल्प डेस्कमा नै जनशक्ति थपेर शनिबारदेखि निगरानी सुरु गरेको जनाएको छ ।
भारतमा महामारीको रुपमा फैलन थालेको स्वाइनफ्लु जस्तो रोगको संक्रमण नेपालमा भित्रिन नदिन उच्च सतर्कता अपनाउन जिल्ला जनस्वास्थ्य कार्यालयले अग्रसरता देखाएको बताउँदै बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक नागेन्द्र चौधरीले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
भारतबाट मासुजन्य पदार्थ नल्याउन सुझाव दिँदै उनले बंगुरलाई कडाखालको ज्वरो आएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न बंगुर पालक किसानलाई आग्रह गरेका छन् । रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, जीउ दुख्ने स्वाइनफ्लुका लक्षण हुन् ।
उनले सबै क्षेत्रको सहयोगले मात्र महामारीलाई फैलनबाट रोक्न सकिने भएकोले विद्यालय, उच्च मावि, क्याम्पस, विभिन्न संघसंस्थाहरुलाई यसको बारेमा सचेतना फैलाउनको लागि विशेष कदम चाल्न थालेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रामबहादुर चन्दले स्वाइनफ्लु भित्रिन नदिन उच्च सतर्कता अपनाइने बताए । उनले भने, ‘तत्काल आत्तिनुपर्ने अवस्था छैन तर सावधानी अपनाउन जरुरी छ ।’ जनस्वास्थ्य कार्यालय बाँकेले नेपाल-भारत सीमा क्षेत्र जमुनाहमा हेल्पडेस्क सञ्चालन गरेको जनाएको छ ।
भारतको मध्यप्रदेश र राजस्थानमा ६ सय ६८ जना र नयाँ दिल्लीमा ५१ जना र उत्तर प्रदेसको लखनउमा ३ जनाको स्वाइनफ्लुका कारण मृत्यु भइसकेको छ ।