जनबोली/१० फागुन, काठमाडौ । नेकपा एमालेको स्थायी समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रिय कार्यालय बल्खुमा मध्यान्ह बस्ने बैठकमा दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन र कार्य विभाजनको टुंगो लगाउने गरी छलफल हुने एमालेले जनाएको छ ।
केन्द्रीय सदस्य मनोनयन र कार्य विभाजनको विवाद चर्कदै गएपछि स्थागित भएको बैठक आज फेरी बस्न लागेको हो । आजको बैठकमा महासचिव ईश्वर पोखरेलको कार्य विभाजन र मनोनयनको प्रस्तावमा सहमतिका लागि प्रयास गरिने भएको छ ।
पोखरेलको प्रस्तावमा नेता माधवकुमार नेपाल पक्षले असहमति जनाएपछि विवाद हुदै आएको छ । एमालेमा एक पद एक जिम्मेवारीको नीति कार्यान्वयन गर्नुपर्ने मागसँगै सस्थापन पक्ष र नेता नेपाल पक्षबीच कुरा नमिल्दा समस्या भएको हो ।
यसैगरी नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो बस्दैछ । पार्टी कार्यालय सानेपमा अपरान्ह बस्ने बैठकमा अनुशासन समितिले गरेको कारवाही फिर्ता लिने, आगामी महाधिवेशनवारे समिक्षा, विपक्षी मोर्चालाई वार्तामा सहभागी गराउने र वर्तमान सरकारको कामकारवाहीवारे बृहत्त समिक्षा गर्ने लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
अनुशासन समितिले यसअघि कारवाहीको लागि सिफारिश गरेका सबै नेताहरुको कारवाही आजको बैठकमा फिर्ता लिने तय गरेको छ ।
विदेश विभाग समेत रहेकी नेतृ सुजाता कोइराला लगायतका थुप्रै नेताहरुलाई संविधानसभाको चुनावमा पार्टीविपरित काम गरेको भन्दै आनन्द ढुँगाना नेतृत्वको अनुशासन समितिले कारवाहीको लागि सिफारिश गरेको थियो । यो कारवाही सिफारिशलाई लिएर पार्टीभित्र विवाद बढेको थियो ।
त्यस्तै बैठकमा संविधानसभा नै बहिष्कार गरेर वार्ता तथा सम्वादमा नै नबस्ने घोषणा गरेको एमाओवादी नेतृत्वको मोर्चालाई कसरी वार्तामा सहभागी गराउने भन्नेवारेमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।