काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पार्टी र सरकार दुबै मोर्चामा असफल भएको निष्कर्षका साथ वरिष्ठ नेता शेरबहादुर देउवाले पक्षीय सदस्यहरुले संगठित रुपमै उनको आलोचना गरेका छन् ।
सरकार बनेको १ वर्षसम्म मौन रहेको वरिष्ठ नेता देउवा पक्षीय समूहले पूर्वप्रतिबद्ता अनुसार कोइरालाले माघ ८ मा संविधान जारी गर्न नसकेको, स्थानीय निकायको निर्वाचन नगराएको, कतैपनि सरकारको प्रभावकारिता नदेखिएको, पार्टीमा भ्रातृ संस्थाको अधिवेशन नगराएको, कार्यकाल सकिदा पनि पार्टीका विभाग र समितिहरुलाई पूर्णता नदिएको जस्ता मुद्धा उठाएर उनको आलोचना सुरु गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा यिनै विषय उठाएर देउवा पक्षीय सदस्यहरु कोइरालाविरुद्ध खनिए ।
यस अघिको बैठक र सार्वजनिक रुपमा समेत देउवा पक्ष सरकारको विषयमा मौन रहँदै आएको थियो ।
माघ ८ मा संविधान जारी हुन नसकेको र पार्टीको महाधिवेशन मिति तोकिसकेको अवस्थामा देउवा पक्ष रणनीतिक योजनाका साथै कोइराला पक्षको विरोधमा उत्रिएका हुन् । आजको कान्तिपुरमा समाचार छ ।