(आइओएम) टुक्र्याएर कीर्तिपुर परिसरमा सार्ने, नयाँ समिति गठन

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १२ फाल्गुण, २०७१

TUकाठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) टुक्र्याएर एमबिबिएस कार्यक्रम कीर्तिपुर परिसरमा सार्ने उद्देश्यले गठित समितिले प्रतिकूल प्रतिवेदन दिएपछि त्रिभुवन विश्वविद्यालयले उक्त प्रतिवेदनलाई नै अस्वीकार गर्दै नयाँ समिति गठन गरेको छ।

डा. जगदीशप्रसाद अग्रवाल संयोजकत्वको उच्चस्तरीय समितिले ‘आइओएमको एमबिबिएस कार्यक्रम कीर्तिपुर सार्न नहुने’ सुझाव दिएपछि त्रिवि उपकुलपति डा. हीराबहादुर महर्जनले आइओएमका सहायक डिन डा. विमलकुमार सिन्हाको संयोजकत्वमा आइतबार नयाँ समिति गठन गरेको नागरिकमा खबर छ।

डा. अग्रवाल समितिको प्रतिवेदन आइओएम टुक्र्याएर एमबिबिएस कार्यक्रम कीर्तिपुर सार्ने त्रिविको एकपक्षीय तयारीसँग मेल खाँदैन। त्यही प्रतिवेदनका आधारमा अघि बढ्दा एमबिबिएस कार्यक्रम सार्ने निर्णय नै खारेज गर्नुपर्ने हुन्छ। त्रिवि उपकुलपतिको कार्यालयबाट डा. सिन्हाका नाममा पठाइएको निर्देशनपत्रमा समेत ‘निर्णय कार्यान्वयनमा कठिनाइ हुने देखिएकाले नयाँ समिति गठन गरिएको’ उल्लेख छ।

समितिमा अर्का सहायक डिन डा. शरद वन्त, आइओएमका प्राध्यापकहरू डा. वाइपी सिंह, दिनेशविनोद पोखरेल र त्रिविका योजना महाशाखा प्रमुख विष्णुकुमार मादेन सदस्य छन्। डा. सिन्हा र मादेनबाहेक सबै अग्रवाल समितिमा पनि थिए।

त्रिविले यसपालि आफूअनुकूलको सिफारिस आउने गरी नयाँ समिति गठन गरेको देखिन्छ। अघिल्लो समितिले ‘आइओएम आफैंमा अनुभवी र विशेषज्ञ संस्था भएको’ उल्लेख गर्दै एमबिबिएस कार्यक्रम आइओएम परिसरमै विस्तार गर्नुपर्ने सिफारिस गरेको थियो। डा. वन्तले भने कीर्तिपुर सार्नुपर्ने पक्षमै मत राखेका थिए। उनी सात महिनाअघि त्रिविका लागि आइओएमका तर्फबाट पाँचवर्षे योजना बनाउने समितिमा संयोजक थिए।

सोही प्रतिवेदनमा वन्तले आइओएमलाई विस्तार गर्नुपर्ने र त्यसका लागि उपयुक्त ठाउँ खोज्नुपर्ने सुझाव दिएका थिए। त्यही सुझाव टेकेर त्रिवि सभाले गत भदौ २२ गते आइओएमको एमबिबिएस कार्यक्रम कीर्तिपुरमा सार्ने निर्णय गरेको थियो।

संयोजक सिन्हासमेत पछिल्लो समय एमबिबिएस कार्यक्रम कीर्तिपुर सार्ने पक्षमा देखिएका छन्। टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनशन तोडाउने क्रममा आइओएमलाई थप स्वायत्तता दिनेबारे सिनेटमा प्रस्ताव लैजान गठित समितिमा उनी संयोजक थिए। एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सिन्हाले हालसम्म प्रस्ताव नै बनाएका छैनन्।

नयाँ समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ। अनुकूल प्रतिवेदन नआउँदासमेत यसका सम्पूर्ण काम–कारबाही गोप्य राख्ने सहमति पनि भएको स्रोतले बतायो।

समितिका कुनै पनि सदस्यले औपचारिक प्रतिक्रिया दिन मानेनन्।

त्रिविले समितिलाई तीनसूत्रीय कार्यादेशसमेत तोकिदिएको छ। जसअनुरुप एमबिबिएस कार्यक्रमलाई १ सय ५० सिट पुर्याकएर कीर्तिपुर सार्न, बिडिएस सञ्चालन गर्न र अन्य कुन/कुन विधा आइओएमअन्तर्गत नै कीतिपुर परिसरमा राख्न उपयुक्त हुन्छ भनी सुझाव र पूर्वाधारसमेत सिफारिस गर्नुपर्नेछ।

समितिलाई दिएको पत्रमा सबैको समर्थन हुने विषय भएकाले बिडिएस कार्यक्रम सञ्चालन गर्ने प्रसंग उठाइएको स्रोत बताउँछ। एमबिबिएस कार्यक्रम सार्ने विषयलाई भने सिट वृद्धिसँग जोडेर सुझाव मागिएको छ। हाल एमबिबिएसमा ७६ जना मात्रै विद्यार्थी पढिरहेको अवस्थामा आइओएमको आयस्रोत घटेको र जेहेन्दार विद्यार्थी पढ्न नपाएको भन्दै ७४ जना थपेर १ सय ५० पुर्यातउने र त्यसका लागि महाराजगन्जमा पूर्वाधार सम्भव भए/नभएको खुलाउन भनिएको छ।

सम्बन्धित खबरहरु