जनबोली/१२ फागुन, दमक । झापाको दमकस्थित भुटानी शरणार्थी शिविर वेलडाँगीमा सशस्त्र प्रहरीले बरामद गरेको ठूलो परिणामको घरेलु रक्सी हिजो सार्वजनिक रुपमा नष्ट गरेको छ ।
शिविरभित्र अवैध रुपले लैजाँदा गरेको अवस्थामा बरामद गरिएका १२५ लिटर घरेलु रक्सी सामाजिक तथा सङ्घसंस्थाका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेले जानकारी दिए ।
शिविरभित्र मदिराजन्य वस्तुको ओसारपसारमा प्रहरीले कडाइ गर्न थालेपछि यस्ता रक्सी बरामद गरिने क्रम बढेको उनले बताए ।
यसैगरी नवनिर्वाचित शिविर व्यवस्थापन समितिले शिविर क्षेत्रभित्र सुरक्षा तथा सरसफाइमा विशेष ध्यान दिन सचेतना गोष्ठी सुरु गरेको छ ।
नयाँ कार्यसमिति नागरिकसँग परिचय गर्दै सुरक्षा, आगलागी र सरसफाइमा सबैले जोड दिनुपर्नेमा सचेत गराउँदै आएको शिविर सचिव सञ्चहाङ सुब्बाले बताए ।