जनबोली/१२ फागुन, काठमाडौं । एमाओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ताले भृकुटीमण्डपबाट मंगलबार दिउँसो साढे १ बजे मार्चपासको प्रदर्शन गर्नेछन् । मार्चपासको समापन कार्यक्रमलाई स्वयंसेवक परिचालन समितिका संयोजक तथा एमाओवादी नेता जनार्दन शर्माले सम्वोधन गर्ने बताइएको छ ।
सुरक्षा दस्तामा एमाओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ता सहभागी रहने छन् । उनीहरुलाई आत्मसुरक्षाको तालिमसमेत दिइएको एमाओवादीले जनाएको छ ।
बिभिन्न कार्यक्रममा एमाओवादी अध्यक्ष प्रचण्डले युवा सुरक्षा दस्तालाई सुरुमा लाठीसहित परिचालन गर्ने र सरकार विरुद्धको आन्दोलनमा दमन भएअनुसार थप बलियो बनाइने बताउँदै आएका छन् ।
भृकुटीमण्डपमा मध्यकमाण्डस्तरीय कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले भनेका थिए, ‘आन्दोलनका बेला हाम्रा युवाको हातमा लाठीमात्रै हुनेछन्, हामीलाई दबाउन सरकारले बन्दुक पनि चलाउन सक्छ, त्यसैले त्यसविरुद्ध पनि भित्रभित्रै हामी तयारीमा हुन्छौं, अहिले यति बुझ्नुस्, स्याल मार्न जाँदा बाघमार्ने जस्तै तयारी गरिन्छ ।’