बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल लामाको सुनुवाइ

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १२ फाल्गुण, २०७१

images

जनबोली/फाल्गुन १२, लन्डन । नेपाल सरकार र सशस्त्र माओवादीबीचको युद्धताका दुई बन्दीलाई यातना दिएको अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाको सुनुवाइ आज मंगलबारबाट शुरु हुने भएको छ ।

श्रोतका अनुसार, सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा बिहान १० बजेबाट लामाको मुद्दामाथि सुनुवाइ शुरु हुन लागेको हो । लामामाथि ब्रिटिश डोमेष्टिक ल (क्रिमिनल जस्टिस् एक्ट १९८८ -१३४) अन्तर्गत मुद्दा छ । उक्त मुद्दामा १२ सदस्यीय एउटा जुरीले सुनुवाइ गर्ने जनाइएको छ ।

‘आज जुरीको शपथ र वादी प्रतिवादीका तर्फबाट प्रमाण पेश गर्ने सम्भावना छ,’ श्रोतले भनेको छ । यस मुद्दाको सुनुवाइ केही दिनसम्म चल्ने र यसले नै लामालाई निर्दोष वा दोषी के हो छिनोफानो गर्ने श्रोतको विश्वास छ । लन्डनस्थित नेपाली दूतावासले भने यसप्रति अनभिज्ञता प्रकट गरेको छ ।

दक्षिणी सुडानमा शान्ति सेनाको नेतृत्व सम्हालिरहेका लामा विदामा परिवार भेट्न बेलायत आउँदा सन् २०१३, ३ जनवरीमा एक्कासी समातिएका थिए ।

चेम्सफोर्ड क्राउन कोर्ट इसेक्स्को आदेश अनुसारपक्राउ परेको करिब अढाइ महिनापछि सन् २०१३, १५ मार्चमा जमानतमा रिहा भएका लामा त्यस यता इलेक्ट्रोनिक ट्यागिङको निगरानीमा छन् ।

लामामाथि लगाइएको यस्तै प्रकृतिको मुद्दा यसअघि नै नेपालको जिल्ला अदालतले छिनोफानो गरिसकेको अवस्थामा फेरि बेलायतले मुद्दा लगाउनु नेपालको सार्वभौममाथिकै हस्तक्षेप भएको तर्क कतिपय कानुनवीदले गर्दै आएका छन् ।

बेलायत भ्रमणका बेला नेपाल सरकारका पूर्व परराष्ट्र सचिव अर्जुनबहादुर थापाले यहांका पदाधिकारीहरुसंग भेटी एउटै अपराधमा उही व्यक्तिलाई दुई पटक सजाय गर्न नहुने अर्थात दोहोरो खतराको सिद्धान्त -पि्रन्सिपल अफ डवल जियोपार्डी) बारे कुरा उठाएको बताएका थिए ।

लामालाई यातना विरुद्धको महासन्धि अर्थात क्याट (कन्भेन्सन अगेन्स्ट टर्चर) अनुसार पक्राउ गरिए पनि नियम बमोजिम बेलैमा नेपाल सरकारलाई अवगत गराइएको थिएन । क्याट कन्भेन्सन संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानवअधिकार सम्वन्धि सन्धि हो जसले यातना, मानवअधिकार उल्लंघन, अमानवीय व्यवहार आदि नियन्त्रणको उद्देश्य राख्छ । हालसम्म नेपालसहित विश्वका एकसय ५४ मुलुकले यस सन्धिमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित खबरहरु