काठमाडौं । कीर्तिमानै कीर्तिमान बनेको खेलमा वेष्ट इण्डिजले जिम्बाबेलाई ७३ रनले पराजित गरेको छ ।
वेष्ट इण्डिजले दिएको ३७३ रनको लक्ष्य पछ्यार जिम्बाबेले ब्याटिङ गरिरहेका बेला वर्षा भएपछि खेलको निर्णय डक वर्थ लुईस नियमका आधारमा गरिएको हो ।
टस जितेर पहिले व्याटिङ गरेको वेष्ट इण्डिजका लागि क्रिस गेलले कीर्तिमानी २१५ रन बनाए भने मार्लोन सामुएल्सले १३३ रन बनाए । जारी विश्वकपमा वेष्ट इण्डिजले दिएको यो सर्वाधिक रनको लक्ष्य हो भने विश्वकपको पाँचौ ठूलो ।
वर्षाका कारण ४८ ओभरमा घटाइएको खेलमा जिम्बाबेले ३६३ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पट्याउने क्रममा जिम्बाबे ४४.३ ओभरमा सबै विकेट गुमाएर २८९ रनमा समेटियो ।
वेष्ट इण्डिजका गेल विश्वकपमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनी खेलको अन्तिम बलमा २१५ रनमा आउट भएका थिए । गेलले १६ छक्का र १० चौका हाने । यो सँगै उनले वान डे क्रिकेटमा ९ हजार रन पुरा गरेका छन् ।
गेल दोहोरो शतक बनाउने चौथो र भारत बाहिरको पहिलो खेलाडी हुन् । यसअघि भारतका सचिन तेन्दुलकर, वीरेन्द्र सेहवाग र रोहित शर्माले दोहोरो शतक बनाएका थिए ।