एमाओवादी मोर्चाको सभा रोक्नेगरि राजनीतिक पहल गरौ : कांग्रेस

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १३ फाल्गुण, २०७१

जनबोली/१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले एमाओवादी मोर्चाको फागुन १६ गतेको आमसभा रोक्नेगरि राजनीतिक पहल गर्न जोड गरेको छ । बुधबारको केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले फागुन १६ गते एमाओवादी मोर्चाले खुलामञ्चमा गर्न लागेको सभालाई रोक्ने पहल गर्न नेतृत्वको ध्यानाकर्षणगराएको हो ।

NC-Central-Committee-Meeting

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्नेहरुले विपक्षी मोर्चालाई वार्र्तामा ल्याउने पहल गर्न पनि माग गरे ।

एमाओवादी कार्यकर्ताहरु भाटा लिएर सडकमा प्रदर्शन गर्न सुरु गरिसकेकाले जनतामा आतंकको स्थिति आएको भन्दै कांग्रेस नेताहरुले सभालाई रोक्ने उपाय खोज्न सुझाव दिएका हुन् ।

बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सबैभन्दा ठूलो दल र सरकारको नेतृत्वकर्ताको हैसियतले कांग्रेसले विपक्षीलाई वार्तामा ल्याउन वातावरण बनाउनु पर्नेमा धेरैले जोड दिएको जानकारी गराए ।

संस्थापन पक्षका नेताहरुले पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई शेरबहादुर देउवा पक्षले असहयोग गरेको आरोप समेत लगाएका थिए । सरकार सञ्चालन र संविधान निर्माणमा कांग्रेस नेतृत्वको सरकार असफल भएको आरोप असन्तुष्ट पक्षले लगाइरहेकोबेला संस्थापन पक्षले नेतृत्वको बचाउ गरेको हो ।

‘मन्त्रीमण्डल गठनदेखि हरेक क्षेत्रमा भागबण्डा खोज्ने अनि उल्टै सरकार सञ्चालन र संविधान निर्माणको काममा नेतृत्व असफल भयो भनेर आलोचना गर्नु तर्कसंगत भएन,’ संस्थापन पक्षका नेताले बैठकमा भनेका धारणाबारे जानकारी दिँदै एक नेताले भने, ‘सभापति ज्यूले कहाँ कसरी एकलौटी गर्नभयो, कि त प्रमाण दिन सक्नु प¥यो होइन भने त्यसै आरोप लगाउन पाईंदैन ।’

बैठकमा धारणा राखेका अधिकांश सदस्यहरुले एकीकृत नेकपा माओवादीको सहमतिबिना दुई तिहाई बहुमतको प्रक्रिया अगाडि बढाउन नहुने बताएका थिए । उनीहरुले शान्ति प्रक्रियाको सहयात्री भएकाले एमाओवादीलाई विश्वासमा लिनका लागि ठूलो पार्टीको नाताले कांग्रेसले नै लचकता अपनाउनुपर्ने बताएका थिए ।

पार्टी सभापति तथा प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा सहभागीहरुले सहमतिको विकल्प खुला राख्न सुझाव दिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘सहमतिको पहल जारी राख्नुपर्छ तर, सहमतिका नाममा अनन्तकालसम्म कुर्न नहुने धारणा आएको छ,’ पौडेलले भने ।

तस्वीर रासस

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७