५० करोडको रक्तचन्दन भारतलाई फिर्ता !

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १४ फाल्गुण, २०७१

काठमाडौं । सरकारले नेपालमा विभिन्न समयमा जफत भई मुलुकमा एकत्र रक्तचन्दन भारत सरकारलाई सुम्पने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले केही मन्त्रीहरुको विरोध अस्वीकार गर्दै उक्त निर्णय गरेको हो । भारतका तर्फबाट नेपालस्थित भारतीय दूतावासको करिब १४ महिनाअघिको पत्रलाई आधार मानी मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । पत्रमा नेपालमा जफत भई विभिन्न ठाउँमा राखिएको रक्तचन्दनको सुरक्षामा नेपालले धेरै जनशक्ति र खर्च व्यहोर्नु परिरहेकाले त्यसलाई भारत पठाउनु नेपालकै हितमा हुने उल्लेख छ । भारतले ४ डिसेम्बर २०१३ मा परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिहरुको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को धारा ८ उदृत गरिएको छ, जसमा सदस्य देशहरुले लोपोन्मुख वस्तुको अवैध व्यापार रोक्न उपयुक्त उपाय अपनाउनुपर्ने उल्लेख छ ।

भारतीय पत्रमा सन् २०१२ को मे १७ मा नयाँदिल्लीमा भएको नेपाल–भारत बाघ तथा जैविक विविधतासम्बन्धी कन्सल्टेटिभ बैठकमा नेपालले भारतलाई फिर्ता दिन सकिने सूचना दिएको उल्लेख गर्दै त्यही आधारमा हालसम्म नेपालमा जम्मा भएको सबै रक्तचन्दन फिर्ता गर्न आग्रह गरिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार भारतलाई फिर्ता दिन लागिएको रक्तचन्दनको बजार मूल्य ४८ करोड ९० लाख पर्छ । हाल चिनियाँ बजारमा प्रतिकेजी १८ हजार रुपैयाँका दरले रक्तचन्दनको व्यापार हुन्छ । रक्तचन्दन नेपालमा उत्पादन हुँदैन । दक्षिण भारतको आन्ध्र प्रदेश र तामिलनाडुका जंगलमा प्रचुरमात्रामा पाइने रक्तचन्दन भारतमा खुला बिक्री हुन्छ । चीनमा धेरै माग भएकाले नेपाल हुँदै तस्करी हुने गरेको यो काठ नेपालले दुर्लभ वन पैदावारका रुपमा राखेको छ । नेपालमा यो काठ बिक्रीवितरण प्रतिबन्धित छ । अन्नपूर्णमा समाचार छ ।

सम्बन्धित खबरहरु