इतिहासमै ४ सय ९ रनको लक्ष्य दिने दक्षिण अफ्रिकासँग वेष्ट इन्डिज २ सय ५७ रनले पराजित

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १५ फाल्गुण, २०७१

159653.3

जनबोली/१५ फागुन,  काठमाडौं । काठमाडौं, १५ फागुन – विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई २ सय ५७ रनले हराएको छ । ४ सय ९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ३३.१ ओभरमा १ सय ५१ रन बनाउँदा अलआउट भयो ।

यो जित विश्वकपकै इतिहासमा सबैभन्दा फराकिलो जित हो । यसअघि सन् २००७ मा भारतले बर्मुडालाई पनि २ सय ५७ रनको हराएको थियो ।वेष्ट इन्डिजलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका इम्रान ताहिरले ५ विकेट लिए भने मोर्ने मोर्केल र केल एबोटले २÷२ तथा डेल स्टेनले एक विकेट लिए ।

१० ओभर बलिङ गरेका ताहिरले २ मेडन राख्दै ४५ रन खर्चेर ५ विकेट लिएका हुन् । वेष्ट इन्डिजका जासन होल्डरले ५६, ड्वायेन स्मिथले ३१, दिनेश रामदिनले २२, जेरम टेलरले नटआउट १५ र जोनाथन कार्टले १० रन जोड्नुबाहेक अरु कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । चालु विश्वकपमा २ सय १५ रनको रेकर्ड बनाएका क्रिस गेलले शुक्रबारको खेलमा ३ रन जोड्दैमा आउट भए भने मार्टिन स्यामुअल्स सून्यमै आउट भए ।

अष्ट्रेलियाको सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४ सय ८ रन जोड्यो । उसका लागि कप्तान एबी डे भिल्लियर्सले विस्फोटक ब्याटिङ गर्दै १ सय ६२ रन जोडे । जम्मा ६६ बल खेलेका उनले १७ चौका र ८ छक्का हाने । दक्षिण अफ्रिकाका हासिम हम्लाले ६५, फाफ डु प्लेसिसले ६२ र रिल्ली रोसोले ६१, डेभिड मिल्नरले २०, क्वीन्टन डिककले १२ रनको योगदान गरे । चालु विश्वकपमा दक्षिण अफ्रिकाले शुक्रबार बनाएको स्कोर नै बढी हो ।

वेष्ट इन्डिजका लागि क्रिस गेल र आन्द्रे रुसेलले २÷२ तथा जोसन होल्डरले एक विकेट लिए । यो जितसँगै विश्वकपमा दक्षिण अफ्रिकाले तीनमध्ये दुई खेल जितेको छ । भारतसँग पराजित भएको दक्षिण अफ्रिकाले जिम्बाब्बेलाई हराएको थियो । वेष्ट इन्डिज  आयरल्याण्डसँग पराजित भएको थियो भने पाकिस्तान र जिम्बाब्बेलाई हराएको थियो ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७