काठमाडौं,  चैत २९ । नेपाल प्रहरीको नयाँ आइजीपीमा प्रकाश अर्याल बढुवा भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक प्राप्त गरेको, कार्यक्षमता र कार्यदक्षता समेतको आधारमा आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०२० साल असार १४ गते दाङमा जन्मिएका अर्याल २०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका उनी कडा स्वाभावका प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । विभिन्न समयमा रुपन्देही, दैलेख, मकवानपुर, तेह्रथुम र कास्कीमा प्रहरी प्रमुख भएर काम गरेका उनी अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख पनि बनेका थिए ।
पछिल्लो समय महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा उनले यातायात क्षेत्रको सुधारका लागि धेरै कामहरु गरेका थिए ।
स्नाकोत्तरसम्मको अध्ययन गरेका उनले अमेरिकाबाट एफबिआई तालिम लिएका छन् भने सिनियर प्रहरी कमान्डो, मानवअधिकार, विशेष व्यक्तिको सुरक्षा, प्रति आतंकवाद कमान्डो जस्ता तालिम लिएका छन् ।
यस्तै उनले दुर्गम सेवा पदक, दैवीप्रकोप उद्धार सेवा, संयुक्त राष्ट्र संघ पदक , गद्धी आरोहण, गोरखा दक्षिणबाहु चौथो, रजत पदक, प्रदेश सेवा पदक, प्रहरी सेवा पदक र वीरेन्द्र ऐश्वर्या सेवा पदक पनि पाएका छन् ।
२०६९ साल पुस ४ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका उनी एकैपटक डिआइजीबाट आइजीपी बन्ने भाग्यमानी प्रहरी अधिकारी बन्न सफल भएका छन् ।
यसो त सेवा अवधिमा उनी विवादमा पनि आए । सिआइबीमा रहँदा उनी ३५ किलो सुन काण्डमा भने मुछिएका थिए ।

सम्बन्धित खबरहरु