चाँगुनारायणमा अबिर-केशरी निषेध

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १७ फाल्गुण, २०७१

Changu_Narayan_Templeजनबोली १७ फागुन, भक्तपुर । विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिरमा रसायनयुक्त अबिर, केशरी निषेध गरिने भएको छ । भक्तजनले रसायनयुक्त अबिर, केशरी र पानी चढाएकै कारण मन्दिर कुरूप बन्दै गएको भन्दै मन्दिर संरक्षणका लागि अबिर, केशरी निषेध गर्ने अभियान थालिएको चाँगुनारायण नगरपालिकाका कार्यकारी अधिकृत प्रह्लादप्रसाद पुडासैनीले बताए ।

रसायनयुक्त पूजा सामग्रीको प्रयोगका कारण चाँगुनारायण मन्दिर परिसरमा रहेका किलेश्वर महादेव, छिन्नामस्ता, गरुढ, भैरवलगायतका मूर्तिहरू पनि कुरूप बन्दै गएका छन् ।

मूर्ति कुरूप बन्दै गएपछि युनेस्कोले मन्दिरलाई विश्व सम्पदाको सूचीबाट हटाउन सक्ने सम्भावना बढ्दै गएको जानकारहरूले बताएका  छन् । यो ५२१ मा प्यागोडा शैलीमा स्थापना गरिएको मन्दिर हो । चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले एक्लैले अबिर, केशरी रोक्न नसकिने उल्लेख गर्दै यसअघि पुरातत्त्व विभाग र नगरपालिकाले नै अभियान थाल्नुपर्ने बताएका थिए । ‘मूर्तिलाई भात र फलफूल कोचिदिने चलन पनि छ । यसको पनि अन्त्य गर्नुपर्छ,’ उनले भने । विश्व सम्पदा सूचीबाटै हट्ने खतरा बढ्दै गएपछि चाँगुनारायण नगरपालिका र स्थानीय संघसंस्थाको पहलमा पूजा गर्दा मूर्तिमा रसायनयुक्त पुजा सामग्रीको प्रयोग नगर्ने र मूर्तिमा स्पर्श नगर्ने अभियान

सुरु गरिने भएको हो । हिन्दु धर्ममा मूर्तिलाई नै छोएर पूजा गर्ने चलनले मूर्तिहरू जीर्ण बन्दै गएको संरक्षणकर्मी रवीन्द्र पुरीले बताए ।

चाँगुनारायण मन्दिर संरक्षणका लागि पुरातत्त्व विभाग भक्तपुरले मन्दिर मर्मत, गरुढनारायण मूर्तिमा छाना, पाता राख्ने, किलेश्वर, छिन्नामस्ता मूर्ति भित्र-बाहिर मर्मत गर्ने योजना बनाएको विभागका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले बताए ।

सम्बन्धित खबरहरु