tama-1_20121216084113

जनबोली/१८ फागुन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरका लागि कर्मचारी संचयकोषका कर्मचारी र बचतकर्तासहित अन्य ऋण लगानीकर्ता संस्थाहरुका कर्मचारीहरुबाट धमाधम आबेदन संकलन भईरहेको छ । यसरी आबेदन गर्ने कर्मचारी संचय कोषका संचयकर्ताहरु मध्ये धेरैको एउटै जिज्ञासा छ – पाँच हजार कित्ता सम्म आबेदन गरेमा कति शेयर आफनो भागमा पर्ला ?
यही जिज्ञासा समाधानका लागि मेरोलगानी डटकमले कर्मचारी संचय कोषको आधिकारिक भनाई प्रस्तुत गरेको छ ।

कर्मचारी संचय कोषमा २०६७ साउन १४ गतेसम्म बचत संकलन गरेका सरकारी तथा गैरसरकारी क्षेत्रमा कर्मचारीहरुले माथिल्लो तामाकोशीको शेयरमा ५० कित्तादेखि पाँच हजार कित्तासम्म माग गर्दै आबेदन गर्न पाउँछन् । त्यो बेलासम्म संचयकोषमा बचत जम्मा गरेका चार लाख २९ हजार बचतकर्ताहरुका लागि एक करोड ८२ लाख कित्ता शेयर छुट्याईएको छ ।

शेयर आबेदन गर्नेहरु मध्ये अधिकांशले पचासदेखि सय कित्तासम्मको लागि आबेदन गरेका छन् भने पाँच हजार कित्ताका लागि आबेदन गर्नेहरु पनि थुप्रै भएको बताईएको छ ।

कर्मचारी संचय कोषका प्रबक्ता राजेन्द्र काफ्लेले जति शेयरको लागि आबेदन गरे पनि ५० कित्ता भने अनिवार्य रुपमा प्रत्येक आबेदकलाई पर्ने निश्चित रहेको बताउनुभयो । उहाँले पाँच हजार कित्ता आबेदन गर्नेले बढीमा एकसय पचास कित्तासम्म मात्र पाउनसक्ने संभावना ब्यक्त गर्नुभयो ।

प्रबक्ता काफ्लेले स्पष्ट शब्दमा भन्नुभयो– चार लाख २९ हजार बचतकर्ता मध्ये कतिले आबेदन गर्छन भन्ने मुख्य कुरा हो । आधाले मात्रै हाले भने पाँच हजार कित्ता माग गर्नेले मुस्किलले एक सय पचास कित्ता पाउँनसक्छन् । त्यो पनि सबैलाई न्युनतम कित्ता भाग लगाईएपछि कति कित्ता पर्छ भनेर भन्न सकिन्छ ।

संचय कोषका अनुसार अधिकतम आबेदन गर्ने सिमा पाँच हजार कित्ताको लागि रकम जम्मा गर्नु अर्थहिन छ । कोषको यस्तो भनाई आएपछि संचय कोषका बचतकर्ताहरु भन्छन्– उसो भए बढी पैसा किन हाल्ने ?

संचयकर्ताहरुले अहिलेसम्म कति शेयरको लागि आबेदन गरे भन्ने कुरा भने कोषले जानकारी दिएको छैन ।

सम्बन्धित खबरहरु