ब्रेक थ्रु भइसक्यो: प्रधानमन्त्री कोइराला

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १८ फाल्गुण, २०७१

Sushil Koiralaजनबोली/१८ फागुन, काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले नयाँ बन्ने संविधानका प्रमुख विवादित तीन विषयमा ‘ब्रेक थ्रु’ भइसकेको र बाँकी रहेको राज्य पुनःसंरचनामा समेत छिट्टै सहमति हुने बताएका छन ।

सहमतिका आधारमा संविधान निर्माणका लागि दलहरुबीच तत्काल संवाद हुनुपर्ने दबाब दिन पुगेको नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री कोइरालाले सहमतिकै लागि दलहरुबीच औपचारिक र अनौपचारिक छलफल भइरहेको बताए ।
प्रमुख दलहरुबीच शासकीय स्वरुप, न्याय प्रणाली तथा निर्वाचन प्रणालीमा गत माघ ५ गते नै सैद्धान्तिक सहमति भइसकेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले बाँकी रहेको विवादित विषयमा पनि वार्ताका आधारमा सहमति हुने विश्वास दिलाए ।
विगतमा वार्ता र संवादको प्रक्रियाबाटै अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, शान्ति प्रक्रियाको महत्वपूर्ण मानिएको लडाकु समायोजनजस्ता कार्य सम्पन्न भएको स्मरण गर्दै उनले जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि सहमतिका आधारमा संविधान बन्नुपर्नेमा जोड दिए ।
सहमतिको कुनै विकल्प नभएको बताउँदै प्रधानमन्त्रीले संविधानसभामा गत माघ ५ गते भएको घटनापछि उत्पन्न संवादहीनताको अवस्थालाई आफूले नै एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेर अन्त्य गरेको अवगत गराए ।

सम्बन्धित खबरहरु