बाबुराम भण्डारी/जर्मनी । पढ्न भनेर नेपालबाट जर्मनी आएको पनि एकवर्ष पुरा भएछ । विश्वभाषाबाट बी प्लस सकेर जर्मनीमा पढाईको लागि अप्लाई गरेँ अन्तिम घडीमा चाँजो पाँजो मिलाउन नपाई यता आईयो । दिउँसो १ बजेको फ्लाईटमा ओमानको ट्रान्जीट हुँदै जर्मनीको राजधानी बर्लिन उत्रिएँ । मेरो स्वागतार्थ साथीहरु आइसकेका रहेछन् । साथी सँगै बस्ने निधो गरी बर्लिन सहरको नजारा गर्दै कोठामा पुगियो । कोठामा अनन्य साथीहरु पनि रहेछन् । बिडम्बना ! चर्को भाडा तिर्न नसकेर साथीहरुको संख्या बढी भएको पाएँ । जेनतेन बस्ने चाँजोपाँजो मिलाईयो । एक साता पछि सो ठाउमा बस्न नसक्ने अवस्था भयो र म आफैँ कोठा चहार्दै बर्लिनको कुना काप्चामा कोठा खोज्न थालेँ । कोठा पाउन मुस्किल पाए पनि मेरो आर्थिक अवस्थाले सो ठाउँ चहार्न नसक्ने अवस्था सिर्जना भयो । कोठा नपाएर भौँतारिँदा मनमा असह्य पीडाका बोध भयो र नेपालमा आफ्ना परिवारसँग बसेको सम्झना मनमा कल्पिँदै संघर्ष गर्न थालेँ । कोठा चहार्न फेसबकमा समेत विज्ञापन दिन पछि परिनँ । पछि मैले जर्मनीको फ्रान्क्फुर्टमा केही समय बिताएँ । त्यहाँ त्यही अवस्था, तत् पश्चात् ह्यामवर्ग सिफ्ट भएँ । केही महिना त्यतै बसेँ, जागिर पाईएन अर्को तनाव !  जसो तसो गुजार चलिरहेको थियो । "पैसा कमाउने कि पढ्ने दुई धार सिर्जना भए" । गुप्तवास बसी केही महिना काम गरेर धेरथोर रकम नेपाल फर्काएँ ।

baburam

पढाईलाई पनि अगाडि बढाउनु थियो,  त्यसकारण केही साथीको सहयोगमा पूनः बर्लिन फर्र्किएँ । एउटा कोठा पाईयो, हामी तीनजना बस्ने सल्लाह भयो । विश्वकप पनि आयो शहर भरि खैलाबैला, हामीलाई भने त्यस्को कुनै मतलब रहेन । विदेशीभूमीमा यो हाम्रो अन्तरआत्माले के को मज्जा लिनु । "तनावै तनाव छ, गोजीमा दुई रुपियाँ छैन ।" उही भद्रगोलको बेलासेको पारा झल्झल्ती सम्झना आउँछ । नेपाली टेलिसिरियल युट्युबमा हेर्यो त्यही त हो । जीन्दगी यापन गर्न कहा सहज छ र त्यही पनि अर्काको देशमा । चालचलन फरक  रितिरिवाज अलग,  भेषा अलग, भाषा अलग, खाना अलग । नेपालबाट आउदा बोकेर ल्याएको चामल पनि सिद्धियो, कति दिन त दालमोठ चिउराकै भर परियो । पेट भने खालिको खालि । नेपालबाट साथीहरु दिनानुदिन फोन गर्छन् । "ओई कति कमाईस्, पैसा चैँ छापेको छस् है ।"  के थाहा, यहाँ मलाई कस्तो परेको छ । घर परिवारबाट पनि त्यस्तै, फोन आयो गफ गर्यो अन्तमा भन्छन् बाबु पैसा चाँडै पठाएस् है । ए बाबा! म कस्तो समस्यामा छु बुझ्ने प्रयत्न त गर । अनि फोन अफ गर्यो, तोईट्!! जीन्दगी पनि बैराग लाग्न थाल्यो । धन्न, अहिले भने एउटा भारतीय नागरिकको रेष्टुराँमा काम पाको छु । तलब खासै छैन तर यहाँ पेट भर्न भने पाको छु । खानामा कम्प्रोमाईज छैन, भात खान चैँ पाको छु । अरुले पेट भर्न मुस्किल, आफुलाई जस्तो पायो त्यस्तै नरुच्ने ।

विश्वविद्यालयमा आवदेन हालेको थिएँ, नेपालबाट मार्कसिट झिकाउनु पर्ने   भो । मार्कसिट हस्त लिखित भयो, नक्कली भयो भनेर रिजेक्ट गर्दिएँ रुन मात्रै सकिनँ । भाषा पढ्न थालेँ, क्रमिक रुपमा भाषा सुधार भयो, बोली चालीको भाषा जानीहालेँ । धन्न छौ प्रभु यहाँ सम्म त डोर्यायौ, अब मार्ग पनि देखाईदेउ भन्दै भगवान् पुज्नु बाहेक अरु कुनै विकल्प रहेन । पढाईलाई अगाडि बढाउन संघर्ष गर्नै पर्ने नत्र कसरी पढ्ने ? अन्तराल पछि विश्वविद्यालयमा पढ्ने मौका पाएँ । अहिले पत्रकारितालाई निरन्तरता दिईरहेको छु । कठिनाई अवश्य छ, अरुको भाषामा पढ्नु पर्ने । महिनौ जसो त केही बुझीएन, तर पछि भने बानी परेछ क्यारे, हल्का हल्का बुझ्न थालेँ ।

नेपालमा साथीहरु मोजमस्ती गर्दा होलान् । तिनीहरुको आफ्नै पीडा छन् मेरो आफ्नै । यो पीडा कसैले बुझ्न सक्दैनन् । बगरका बालुवा जस्तो भईयो, जसको कुनै कार्यतत्परता छैन, काम पर्दा कसैले खोतलखातल पारेर लान्छन् र सपनाको संसार निर्माण गर्छन् । आफुलाई भने यी सब फगत लागिरहेका छन् । सामाजिक सञ्जालमा पनि अफलाईन च्याटमा बसेको छु । छिटफुट रुपमा मात्र प्रवेश गर्ने भएकाले होला फेसबुकबाट थाहा भो एउटाले त विवाह पो गरेछ । "पार्टीले" त विवाह गरेछ मलाई कत्ति पनि सम्झिएन । नेपालमा छँदा थेगो प्रयोगमा आउथ्यो, पार्टी । साथीहरु सबलाई सम्झिरहेको छु दुःख सुखका सहारा न हुन् । घुलमिलमा धेरै रमाईलो हुन्छ । चाडपर्वमा सबैजना रमाईलो गर्छन्, आफूलाई त उसिनेको आलु जस्तो, क्वाप्प खायो सक्यो । यहाँ बसेता पनि यहीका साथीसँग आज त फलानो तिलानो चाड अरे नि भन्दै मन भरि साँच्यो । मनको लड्डु घिउ सित खायो, त्यस्तै त हो । विरानो देशमा छु, संघर्ष बाहेक अरु कुनै आधार छैन । तथापि गीत संगितको मनोरञ्जन लियो, नेपाली चलचित्रहरु अनलाईन मिडियामा हेर्यो त्यति त हो । अन्ततः मेरो दैनिकी यसै गरि नै चलिराखेको छ । सम्भवतः केही वर्ष पछि नेपाल फर्किन्छ, लगत्तै साथीभाइ इष्टमित्र घरपरिवारमा मैले भोगेको कटु यथार्थ सुनाउनछ, साट्नु छ । म त्यही घडीको पखाईमा छु ।

सम्बन्धित खबरहरु