काठमाडौं, असार ७ । सन् १९८६ को जुलाई महिनाको २७ तारिख । आइतवारको दिन । कालिम्पोङको मेला ग्राउन्डमा हजारौं मानिस जम्मा भएका थिए । यी मानिस गोर्खाल्यान्ड राज्यको समर्थन र सन् १९५० मा भएको नेपाल–भारत सन्धिको विरोधमा त्यहाँ भेला भएका थिए । त्यतिखेर भीडका केही मानिसले कालिम्पोङ थानानजिक डीआईजी स्तरका एक अधिकारीमाथि खुकुरी प्रहार गरेका थिए । त्यसपछि आक्रोशित प्रहरीले अन्धाधुन्ध फायरिङ ग–यो । यसमा महिला र बच्चासहित १३ जनाको मृत्यु भयो ।

त्यतिखेर गोर्खाल्यान्ड आन्दोलनको नेतृत्व सुभाष घिसिङको हातमा थियो । उनी गोर्खा नेसनल लिबरेसन फ्रन्टका नेता थिए । घिसिङले आन्दोलनमार्फत गोर्खाल्यान्डलाई पृथक् राज्यको दर्जा दिनुपर्ने माग राखे र पहाडका मानिसहरू उनको पछि लागे ।

प्रसिद्ध स्तम्भकार तथा गोर्खा जनमुक्ति मोर्चाका प्रमुख सल्लाहकार स्वराज थापाका अनुसार सन् १९८६–८८ मा चलेको गोर्खाल्यान्ड आन्दोलनमा करीब १५ सयजनाले ज्यान गुमाएका थिए । यसका बाबजुद सरकारले पश्चिम बंगालको विभाजन गरेन । त्यसैले गोर्खाल्यान्डको माग यथावत् रह्यो । त्यतिखेर दार्जीलिङ ४०–४५ दिनसम्म बन्द भयो र त्यहाँका निवासीहरूले आफ्नो स्वार्थ नहेरी आन्दोलनको समर्थन गरे । अहिले सन् २०१७ को जुन महिना चलिरहेको छ । गोर्खाल्यान्डको माग फेरि चर्केको छ र पहाडका मानिस यसलाई अन्तिम लडाईं मान्दैछन् ।

अहिले नेतृत्व बदलिएको छ । विमल गुरुङ अहिले गोजमोका नेता छन् । गोर्खाल्यान्डका लागि सुभाष घिसिङ र विमल गुरुङको आन्दोलनमा के फरक छ ? वरिष्ठ पत्रकार तथा लेखक उपेन्द्रमणि प्रधान भन्छन्, ‘दुई आन्दोलनका नेताको तुलना गर्नु उचित हुँदैन । तर सुभाष राजनीतिक रूपमा बढी परिपक्व थिए जस्तो लाग्छ । उनको राजनीति चाहिँ हिंस्रक थियो । विमल भने शान्तिपूर्वक आन्दोलन गर्न चाहन्छन् ।’

दार्जीलिङमा बस्ने मानिसमा सबभन्दा ठूलो संख्या गोर्खा समुदायको छ । उनीहरू १० लाखभन्दा धेरै छन् ।
इतिहासका किताबमा लेखिएअनुसार दार्जीलिङको खोज क्याप्टेन लायड र जे डब्ल्यु ग्रान्टले गरेका थिए । त्यतिखेर यहाँ लेप्चा समुदायका केही मानिस बसथे । उनीहरू २०० भन्दा कम छन् ।
सन् १८६६ तिर अंग्रेजहरूले यहाँ चियाखेती शुरु गरे । चियाबगानमा काम गर्न ठूलो संख्यामा नेपालबाट गोर्खा मजदूर त्यहाँ पुगे । पछि उनीहरू त्यहीँ बसे र पहाडमा उनीहरूको आबादी बढ्दै गयो ।

तर पत्रकार उपेन्द्रमणि प्रधान यसलाई अर्धसत्य मान्छन् । उनी भन्छन्, ‘दार्जीलिङको इतिहास कसले लेख्यो रु कुनै चटर्जी, बनर्जी, राय वा घोषले । त्यसैले इतिहासकारहरूले आफ्नो सुविधाबमोजिम तथ्यलाई बंग्याएर प्रस्तुत गरे । खासमा दार्जीलिङ बसेदेखि नै यहाँ गोर्खा समुदायका मानिस छन् ।’

रिन्चु टुप्पा भुटिया जातिकी महिला हुन् । तर उनी आफूलाई गोर्खा भन्छिन् । बीबीसीसँग कुरा गर्दै उनले पहाडमा बस्ने लेप्चा, भुटिया, गुरुङ, शेर्पा सबै गोर्खा हुन् । ‘गोर्खा कुनै जाति हैन, हाम्रो पहिचान हो,’ उनी भन्छिन् ।
स्वराज थापाका अनुसार गोर्खाल्यान्डको माग सय वर्षभन्दा पुरानो छ । पहिला सुभाष घिसिङ अनि अहिले विमल गुरुङले यसलाई जोडदार तरिकाले उठाइरहेका छन् । ‘सरकारले यहाँका मानिसको अस्मिता रक्षाका लागि पश्चिम बंगालबाट अलग गराएर हामीलाई गोर्खाल्यान्ड दिनुपर्छ ।’
दार्जीलिङको चौरस्ता निवासी रोशन सिंहले बाह्र पास गरेका छन् । बंगाल प्रहरीमा भर्ती हुन उनले दुईचोटि कोशिश गरिसके र सफल भएनन् । अहिले उनी एक होटेलमा वेटरको काम गर्दैछन् ।

उनका अनुसार गोर्खालाई उनीहरूको भाग दिने गरिएको छैन । भारत स्वतन्त्र भएको यत्तिका वर्ष बितिसक्दा पनि आफूहरूले चौकीदार र वेटर जस्ता काम गर्नुपरेको उनको गुनासो छ ।
उपेन्द्रमणि प्रधान भन्छन्, ‘सबा अर्ब जनसंख्या भएको देशमा गोर्खाहरूको संख्या एक करोड मात्र छ । प्रस्टै छ, हामीलाई न राजनीतिक भाग प्राप्त भयो न प्रशासनमा छिर्न पाइयो । दार्जीलिङका गोर्खाहरू अरू ठाउँमा गएर अफिसर बन्छन् तर यहाँ चाहिँ हाम्रो कुनै अस्तित्व छैन ।’
उनी भन्छन्, ‘बंगालीहरू हामीलाई दोस्रो दर्जाको नागरिक मान्छन् । गोर्खाहरूलाई यो स्वीकार्य छैन । हामी अब बंगलासँग बस्न सक्दैनौं । हामीलाई गोर्खाल्यान्ड चाहिन्छ जुनसुकै हालतमा ।’
बीबीसी हिन्दीबाट

सम्बन्धित खबरहरु