२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सरकारको चरित्र झल्कियो, अनेक मुद्दामा कयौं पटक पक्राउ परेका लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष

काठमाडौं । आजको एक निर्णयले सरकारको चरित्र थप झल्किएको छ । ठगी तथा हातहतियार सहित अनेकौं मुद्दा लागेर पटक–पटक पक्राउ परिसकेका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेर सरकारले कसका लागि काम गरिरहेको छ भन्ने चरित्र थप उदांगो पारेको छ ।

मन्त्रिपरिषद बैठकले लामालाई कोषको उपाध्यक्ष बनाएको एक मन्त्रीले जानकारी दिनुभयो । तर कहिले बसेको बैठकबाट लामा नियुक्त हुनुभएको हो भन्नेबारे ती मन्त्रीले खुलाउन चाहानुभएन ।

गत मंगलबार मन्त्रिपरिषदको पछिल्लो बैठक बसेको थियो जहाँ उहाँको नियुक्तिबारे कुरा उठेकै थिएन। त्यसपछि मन्त्रिपरिषद बैठक बसेको छैन। माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहनुभएका ल्हारक्याल लामा वैदेशिक रोजगारमा ठगी, दोहोरो नागरिकता, अकूत सम्पत्ति आर्जन लगायत अभियोगमा पटक–पटक पक्राउ परिसकेका व्यक्ति हुनुहुन्छ ।

उहाँ कोषको उपाध्यक्ष बन्न निकै अघिदेखि प्रयासरत हुनुहुन्थ्यो । संविधानसभा सदस्यसमेत रहनुभएका उहाँ अर्थराज्यमन्त्री पनि भइसक्नुभएको छ । लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको गत साउन १० गते कार्यकाल सकिएपछि लामालाई नियुक्त गरिएको ती मन्त्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस