काठमाण्डौँ । नेपालगञ्जमा एक युवकले प्रेमिकाको हत्या गरेका छन्। युवकले दैलेख घर भई नेपालगञ्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या गरेका हुन्।
बेलासपुरस्थित कोठामा सलले घाँटी कसेर उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। युवती हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जस्थित स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर हत्याको जानकारी दिएका प्रहरीले जनाएको छ। निर्मलाको हत्यापछि राति २ बजे उनी आफै जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले प्रेमिकाको हत्या गरेको जानकारी गराएका थिए।
प्रकाश विवाहित रहेको खुलेको प्रहरीले जनाएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामा छन्। प्रकाश र निर्मला विगत तीन वर्षदेखि नेपालगञ्ज–१२ बेलासपुरमा सँगै बस्दै आएको पाइएको छ। अहिलेसम्म हत्याको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

