काठमाडौ । अब नेपालपनि विकसित मुलुककै हाराहारीमा आइपुगेको छ । रेष्टुरेण्टमा मानिसले मेन्यु देखाएर खानाको अर्डर लिने र सोही अर्डर बमोजिमको खाना टेबुलमा ल्याएर ग्राहकलाई दिने थुप्रै रेष्टुरेन्टहरुमा तपाई पुगिसक्नुभएको होला । तर अब रोबोटलाई अर्डर दिने र रोबोटले नै टेबुलमा खाना ल्याएर दिने नेपाली रेष्टुरेन्टमा सायदै पुग्न पाउनुभएको होला ।

यदी पुग्नुभएको छैन भने अब नेपालमै यस्तो रेष्टुरेन्टको अनुभव गर्न पाउनुहुनेछ । किनभने नेपालमा पहिलो पटक रोबोटले सर्भिस दिने रेष्टुरेन्ट सञ्चालनमा आएको छ । २१ औँ शदाब्तीमा विज्ञानले उल्लेखनीय अविष्कारहरु गरी मानव जीवनलाई धेरै सहज, छिटो र छरितो बनाउदै गएको अवस्थामा नेपालको राजधानी काठमाण्डौँको मुटु मानिने न्यूरोडमा रोबोटले सर्भिस दिने रेष्टुरेन्ट खुलेको हो । केकेएफसी नाम उक्त रेष्टुरेन्टको औपचारिक उद्घाट्न मंसिरको सुरुवातमै भएको छ ।

विगत एक दशक देखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रन्जित साहले संचालक रहेको केकेएफसी रेष्टुरेन्टमा फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राईड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडक लगायतका परिकारहरु पस्किने गर्दछ । साहका तीन दाजुभाईहरुको संयूक्त प्रयासले रोबोट प्रविधि जडित रेष्टुरेन्टलाई नेपालमा सम्भव तुल्याएको हो ।

अन्य मुलुकहरुमा रोबोट प्रविधि जडित रेष्टुरेन्ट संचालनमा आइसकेपनि नेपालको लागि भने यो पहिलो र नौलो हो । ग्राहकहरुलाई छिटो र छरितो सर्भिस दिन सकियोस र नया अनुभव पनि हासिल होस भन्ने उद्देश्यले रोबोट जडित रेष्टुरेन्ट संचालनमा ल्याउन लागेका हौं साहले भने, औपचारिक ओपनिङ पिपुस् प्लाजा न्यूरोडमा मंसिर ८ गते भएको छ ।

सम्बन्धित खबरहरु