sajha-busकाठमाडौं । तोकिएको दरभन्दा यात्रुबाट बढी रकम असुल गरेर सार्वजनिक सवारीसाधन सञ्चालकले यात्रुलाई टिकट उपलब्ध नगराएर अर्को ठगी गरेका छन्।

उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनले लामो समयदेखि यात्रुलाई टिकट उपलब्ध गराएका छैनन्। जसका कारण पीडित यात्रुले कानुनी उपचार खोज्नसमेत वञ्चित छन्।

छोटो दुरीमा गुड्दै आएका सवारीसाधनका कन्डक्टरले यात्रुबाट तोकिएभन्दा बढी भाडा असुल गरे पनि त्यसबापत उपलब्ध गराउनुपर्ने टिकट यात्रुलाई दिँदैनन्। जसबाट यात्रु र स्वयं बस सञ्चालकसमेत ठगिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

यातायात व्यवस्था विभागका अनुसार करिब ३५ वर्षदेखि उपत्यकाका सार्वजनिक सवारीकासाधनले यात्रुलाई भाडाबापत टिकट उपलब्ध गराएका छैनन्।

विभागका निर्देशक वसन्त अधिकारीले पछिल्लो समयमा साझा बसबाहेक अन्य सार्वजनिक बस व्यवसायीले भाडा लिएबापत यात्रुलाई टिकट उपलब्ध गराएका छैनन्।

‘मलाई थाहा भएसम्म विगत ३० वर्षभन्दा बढी समयदेखि सार्वजनिक सवारीसाधनले यात्रुलाई टिकट दिएका छैनन्’, निर्देशक अधिकारीले अन्नपूर्णसँग भने, ‘व्यवसायीको उदासीनताका कारण टिकट प्रणाली लागू हुन सकेको छैन।’

अधिकारीले अनामनगरबाट मीनभवनसम्म जाने क्रममा गत शनिबार नेपाल यातायातले आफूसँग पनि न्यूनतम दुरीमा १३ रुपैयाँको साटो १५ रुपैयाँ असुल गरेर ठगी गरेको बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने टिकट प्रणाली लागू हुन नसक्नुमा सरकार दोषी रहेको दाबी गरे। ‘सरकारले चाडबाडको समयमा मात्रै अनुगमन गर्नु भएन।

टिकट प्रणाली लागू गर्ने विषयमा अहिलेसम्म हामीलाई छलफलका लागि बोलाइएको छैन’, महासचिव सिटौलाले भने, ‘भाडा लिएर हामीले टिकट उपलब्ध गराएका छैनौं। दोषजति हामीलाई नदिनुस्। विभाग पनि दोषी हो।

टिकट प्रणाली लागू गर्न विभागले किन चासो देखाएन्?’ सरकारले राजपत्रमा सूचना प्रकाशित गरी शून्यदेखि चार किलोमिटरसम्मको दुरीमा १३ रुपैयाँ तोके पनि व्यवसायीले अवैध रूपमा चार किलोमिटरसम्म यात्रा गर्ने यात्रुबाट १५ रुपैयाँ असुल गरेर पनि टिकट उपलब्ध नगराएको विभागले जनाएको छ।

सम्बन्धित खबरहरु