काठमाडौ । गृहमन्त्री रामबहादुर थापा बादलले भक्तपुरमा भएको प्रहरी इन्काउन्टरको छानविन गर्ने भएका छन् । उनले आज मन्त्रालयमै बोलाएर भक्तपुर इन्काउन्टर प्रकरणबारे महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीसँग जानकारी लिए । गृहमन्त्री थापाले विहीबारको औपचारिक प्रहरी ब्रिफिङ सुनेपछि अब घटनाको छानविन गर्ने बताएका छन् ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहसहितको टोलीले गृहमन्त्रालय पुगेर भक्तपुर इन्काउन्टरबारे ब्रिफिङ गरेका थिए । स्रोतका अनुसार सिंहले गृहमन्त्रीलाई भक्तपुरमा भिडन्त भएको घटना वास्तविक भएको बताएका छन् । ‘बाहिर प्रचार गरिएको जस्तो फेक घटना होइन’, सिंहको भनाइलाई उद्धृत गर्दै गृह स्रोतले भन्यो ।

आइतबार साँझ काँडाघारीबाट अपहरित बालक निशान खड्कको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न अपहरणकारी गोपाल तामाङ र अजय तामाङमाथि गोली चलाउँदा सोमबार उनीहरुको मृत्यु भएको थियो ।

त्यो सुनेपछि गृहमन्त्रीले यो घटनाबारे छानविन हुन्छ भन्दै प्रहरीलाई पठाएका थिए । उनले बिहीबार नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा घटनाबारे छानबिन गर्ने प्रतिवद्धता जनाएका हुन् । समितिको बैठकमा सांसदहरुले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेपछि गृहमन्त्रीले छानविनको प्रतिवद्धता जनाएका हुन् । इन्काउन्टरमा मारिएका दुई व्यक्तिका परिवारले फेक इन्काउन्टर भएको भन्दै घटनाको छानविनको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगसमक्ष उजुरीसमेत दिएका छन् ।

सम्बन्धित खबरहरु