काठमाडौ । आफ्नो स्वामित्वमा नरहेको जग्गा धुर्मुस(सुन्तली फाउन्डेशनलाई दिने कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रस्ताव प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अस्वीकृत गरिदिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको विश्वविद्यालयको सिनेट बैठकमा ओलीले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा रंगशाला बनाउन दिन नमिल्ने भन्दै अस्वीकृत गरेका हुन्।

‘आफ्नो नाममै नभएको जग्गा दिन मिल्दैन भन्नुभयो। यस्तो प्रस्ताव ल्याउने भन्दै रिसाउनुभयो,’ सिनेट बैठकमा सहभागी विश्वविद्यालयका निर्देशक ईश्वरीप्रसाद कडरियाले भने,‘उपकुलपतिज्यूले अपरिपक्व र कच्चा प्रस्ताव बैठकमा पेश गर्नुभएको थियो। हाम्रो विरोधपछि कुलपतिज्यूले अस्वीकृत गरिदिनुभयो।’ सरोकारवाला पक्षसँग छलफल नगरी ‘शक्तिकेन्द्रलाई खुसी पार्न’ विश्वविद्यालयले जग्गा दिने प्रस्ताव आएको कडरियाले दाबी गरे। ‘प्रचण्ड पनि यही क्षेत्रको पर्नुभयो। शक्तिकेन्द्रलाई खुसी पार्न मिल्दै नमिल्ने प्रस्ताव गरिएको थियो,’ उनले भने, ‘विश्वविद्यालयको जग्गा विश्वविद्यालयलाई नै चाहिन्छ। भविष्यमा पूर्वाधार खडा गर्नेदेखि फार्महरू चलाउन पर्ने हुनसक्छ।’

त्रिविको जग्गा कृषि, वनविज्ञान विश्वविद्यालयको नाममा हस्तान्तरण नहुँदै उपकुलपति ईश्वरी ढकालले ‘प्राज्ञिक सभालाई नै बेकुफ बनाउने गरी क्रिकेट मैदान बनाउन जग्गा दिने’ प्रस्ताव सिनेट बैठकमा लैजानु नै गलत भएको कडरियाको तर्क छ। ‘विश्वविद्यालय स्वायत्त छ भन्दैमा मनपरी प्रस्ताव गर्ने भनेर प्रधानमन्त्री पनि रिसाउनुभयो,’ कडरियाले भने। कृषि तथा वन विश्वविद्यालय चितवनका उपकुलपति ईश्वरी ढकालले भने क्रिकेट रंगशाला निर्माणका लागि जग्गा दिने प्रस्ताव केही समयपछि पूरा हुने बताए।

औपचारिक रूपमा त्रिविले कृषि, वनविज्ञान विश्वविद्यालयको नाममा जग्गा हस्तान्तरण गरिनसकेकोले सिनेट बैठकले अहिले क्रिकेट रंगशाला बनाउन जग्गा दिनभन्दा आफ्नो नाममा जग्गा आएपछि दिँदा राम्रो हुने विषयमा छलफल भएको उनले बताए। आफ्नो स्वामित्व बाहिरको जग्गा दिने प्रस्ताव किन लगिएको भन्ने प्रश्नमा उपकुलपति ढकालले भरतपुर महानगरपालिकाले सर्वदलीय तथा बोर्ड बैठकबाट विश्वविद्यालयलाई अर्को जग्गा सोधभर्ना गरिदिने भनेपछि प्रस्ताव लगिएको दाबी गरे।

त्रिविको ३३८ बिगाहा जग्गामा कृषि, वनविज्ञान विश्वविद्यालय छ। महानगरले क्रिकेट रंगशाला बनाउने दिने २० बिगाहा जग्गाको सट्टामा महानगरभित्र नै जग्गा दिने बचन दिएको उनले बताए। २० बिगाहा जग्गा नै महानगरले सोधभर्ना गरिदिने तथा क्रिकेट मैदान विश्वविद्यालयको स्वामित्वमा नै रहने र विद्यार्थीलाई पनि खेल्न मिल्ने भएकोले रंगशाला बनाउन जग्गा दिने प्रस्ताव गरेको उनले बताए। अहिले प्रस्ताव अघि नबढे पनि केही समयपछि जग्गा दिइने उनले बताए।

‘जग्गाको स्वामित्वको कुरा उठेपछि अहिले निर्णय हुन सकेन,’ उनले भने। विश्वविद्यालयलाई जतिको त्यति नै जग्गा महानगरले दिने भएकोले पूर्वाधार खडा गर्न जग्गा अभाव नहुने तर्क उनको छ। धुर्मुस(सुन्तली फाउन्डेशनका सीताराम कट्टेल ९धुर्मुस० ले आफूहरूले जग्गा पाउनेमा आशावादी रहेको बताए। ‘जग्गाको स्वामित्व नभएकोले अहिले निर्णय नभएको भन्ने मैले बुझेको हुँ। अस्वीकृत नै भएको भन्ने होइन होला,’ कट्टेलले भने, ‘विश्वविद्यालयको नाममा जग्गाको लालपूर्जा आएपछि विश्वविद्यालयले महानगरलाई जग्गा हस्तान्तरण गर्ने भन्ने रहेछ। त्यसपछि मात्रै हाम्रो काम सुरु हुन्छ।’

जुन दिन जग्गा प्राप्त हुन्छ सोही दिनदेखि रंगशाला निर्णाण सुरु गर्ने उनले बताए। ‘क्रिकेट रंगशाला बनाउन म प्राविधिक तयारीमा जुटिराखेको छु’, उनले भने, ‘आधिकारिक हिसाबले नै जग्गा नदिने वातावरण बन्यो भने दुःखद हुन्छ। केही गरौं भन्ने युवा निरुत्साहित हुन्छन्। सरकारलाई सघाउने अभियान भएकोले निरुत्साहित हुने दिन नआउला।’ सेतोपाटीबाट

सम्बन्धित खबरहरु