टुरुप संग्रौला । समय भएसम्म केही धार्मिक ग्रन्थको अध्ययन मेरो रुची हो । जहाँ स्वर्गको वयन राम्रै गरेको पाउँछु । यसैले म बेला–बेला एक्कासी स्वर्गको खोजीमा निस्किन्छु । ग्रन्थको आलेख अध्ययनपनि मेरो मनले मन्थन गर्छ । र भन्छ स्वर्ग त प्रकृती देवीले छटा फहराएको कुनै एक स्थान हो । न कि कुनै देवालय हैन ।

 

कालियुगका लागिपनि सृष्टिकर्ताले हाम्रो धर्तीमा त्यस्ता अनेकौँ स्थानको वरदान दिएका छन् । राष्ट्रप्रेमले मात्र भनेको हैन तथ्यकै आधारमा मेरो जन्मभूमी नेपालका अनेकौँ ठाउँ हाल मानव विराजमान धर्तीको स्वर्ग हो मेरो तथ्य र आत्माले भनेको छ । यसै शब्द लेखिन किनकी मेरो क्यामेराको लेन्सले स्वर्गका अनेकौँ टुक्रा कैद गरेको छ ।

 

हो मेरो क्यामेराले कैद गरेका तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमामा रहेको पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले क्षेत्रको तीनजुरे र मिल्केका यि तस्विरले नै भन्छ यो स्वर्ग हो । यसैले मलाई स्वर्ग पुगेर फर्किएकोमा मन प्रफुलित छ । गुराँसको राजधानी तीनजुरे र मिल्के डाँडाबाट यो समय गुरासँ फुल त कैद गर्न सकिन्न तर अहिलेको दृष्यपनि पाठकका लागि कम छैन । यो क्षेत्र बाह्रै महिना आकर्षक र रमणीय लाग्छ ।

 

तीन जिल्लाको संगमको रुपमा रहेको मेन्छ्यायेम डाँडाबाट पुर्वका दश बढी जिल्लाको भुभाग अवलोकन गर्न पाइन्छ । तीनजुरे डाँडा, मिल्के डाँडा, गुफापोखरी, मंगलबारे लगायतका क्षेत्रबाट देखिने मकालु, कञ्चनजंघासहितको हिमश्रृंखला र पहाडी क्षेत्रको दृश्यावलोकनले जो कोही मन्त्रमुग्ध हुन्छ । गुफाबजार, मंगलबारे, चौकी, जोरपोखरी, सुकेबजार र यहाँ आसपासको लेकाली क्षेत्रको जनजीवनले बाहिरबाट आइपुग्नेहरु त भुतुक्कै हुन्छन् । विदेशीहरु त हुरुक्कै हुँदै देखिएको छितिजलाई आकाशे चुम्मन गरिरहेका हुन्छन् । प्रकृती देवीले फिजाएको छटामा लुकामारी खेल्छन् ।

 

यो सुन्दर माटोमा आमाको काखमा दुधेबालक पलाप्पिए झै लुडिबुडी खेलिरहेका हुन्छन् । आजकाल छ आन्तरिक पर्यटनको निक्कै विकास भएको छ । देशभरीका विभिन्न जिल्लाका दाजु भाई दिदिबहिनीहरुपनि त्यही झुम्मिरहेको देख्न पाइन्छ । बिहानपख चौकीबाट माथिको सबै क्षेत्र खुल्दा हरियो फरियामा सजिएकी राजकुमारी झै पहाड हाँसिरहेको देखिन्छ । यहाँका लेकाली जंगलमा पालिएका चौरी, याक सहितका गोठ र त्यहाँको दैनिकी, चिसोसँग जुध्दै स्थानीय बासिन्दाले गरेका उद्यम र बस्तीहरु असाध्यै रमाइला लाग्छन् ।

 

अहिले तेह्रथुमको बसन्तपुर हुँदै मिल्के नजिकैको जोरपोखरी बजारसम्म सवारी सुविधा छ । ताप्लेजुङबाट आउनेहरुले साँघुबाट सवारी चढेर गुफाबजार हुँदै बसन्तपुरसम्मको यात्रा गर्न पाउँछन् । बसन्तपुरदेखि दुई दिन लगाएर पैदल यात्रा गर्दैपनि यो क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको मौषम भने अचम्मको छ । आकाश खुल्दा वरिपरि हेर्न पाइन्छ । भने क्षणभरमै फेरि आकाशमा वादल छाउँछ । आकाश ढाकेको बादल हट्न फेरि धेरै बेर नै लाग्दैन ।

 

यो क्षेत्रका बस्तीहरुमा अहिले बर्खे आलु खनिरहेका छन् । लेकाली आलुका परिकार खाँदा लाग्दछ यो जीवनबुटीको स्वादन भइरहेको छ । थप अरु बर्ष आयु बढिरहेको छ । स्थानीय बासिन्दा आलु र मकै एकै ठाउँमा रोप्छन् । आलु जेठपछि नै खान पाइन्छ भने मकै असोज मसान्तमा अर्थात अहिले खाने बेला भएको छ । ती अर्गेनीक उत्पादन त्यहाँबाट फर्किएपछिपनि बर्षौसम्म याद रहन्छ । यो शब्दमा मात्र बखान गरिएको हैन । मलाई आशा छ यहाँ राखिएका २० तस्विरले यो तथ्यलाई प्रमाणित गर्नेछ ।

 

 

सम्बन्धित खबरहरु