काठमाडौ । हिन्दू नेपालीहरुको महान पर्व दशैं शक्तिकी देवी दुर्गा भवानीको पूजासँगै बली, मासु तथा पेयपदार्थको पर्वको रुपमा विकसित भइरहेको छ । वर्षभरी कमाएको पैसा दशैंमा अत्यधिक खर्च गर्ने प्रचलन बढ्दो छ । खासगरी मासु र पेय पदार्थमा बढी खर्च गर्ने नेपालीहरुको संख्या बढिरहेको छ ।

केही वर्षपहिला सम्म धनाड्य वर्ग र केही जातीको परिवारमा मात्रै पारिवारिकरुपमा मदिरा चल्थ्यो । यसमा पनि धनाड्यहरुले अत्यन्तै महंगो रक्सी पिउने गर्थे भने अन्य जातजाती र समुदायले घरेलु मदिरा सेवन गर्ने गर्थे । तर, अहिले अवस्था फेरिएको छ । अहिले भोज भतेरहरु मदिराबिना अपूरो बन्न थालेका छन् । महिलाले मदिराको प्रयोग पहिला पहिला हुने गरेको थिएन तर, पछिल्लो समय छोरी बुहारीहरुले समेत सासु, ससुरा, छोरा बुहारी, श्रीमान् श्रीमतीसँगै बसेर सँगै पिउन थालिसकेका छन् । यसलाई सकारात्मक लिनेहरुले रमाइलो हो भने पनि मदिरा सेवनले धेरै बिकृति तथा अपराधहरु पनि बढेको छन् ।

मंहगो रक्सीको माग बढ्दो
नेपालमा खासरी स्कटल्याण्ड, अमेरिका, अष्ट्रेलिया, फ्रान्स, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीनलगायतका देशबाट रक्सी आयात हुने गरेको छ ।
नेपालमा महंगा रक्सी सौखकै लागि समेत प्रयोग गर्ने गरेको छन् । महंगा ह्वीस्की तथा ब्रान्डेड मदिरा उत्पादन पूर्णरुपमा प्राकृतिक तरिकाबाट गरिने हुन्छ । तसर्थ यस्ता प्रकृतिका खासगरी फ्रान्स र स्कटमा उत्पादित मदिरा विश्वभर नै लोकप्रिय मानिन्छन् ।

पछिल्लो समय वाइनको खपत बढ्दै गएको उत्पादक तथा वितरकहरु बताउँछन् । नेपालमा टुर ड्यूरोकमिलोन, बोटेडा एमरोन, इन्क्लेभल लगायतका ब्रान्डेड विदेशी महंगा वाइनहरु पाइन्छ । नेपालीहरुको क्रयशक्ति बढेसँगै अहिले महंगा रक्सीहरुको माग बढेको हो ।

३५ रुपैंया देखि ६ लाखसम्मको रक्सी नेपालमा
नेपालको उद्योगपति तथा सम्भ्रान्त परिवारले मंहगा रक्सीलाई आफ्नो इज्जतसँग जोडेका हुन्छन् । उनीहरुले महंगो रक्सी खोज्छन् । त्यही वर्ग लक्षित गरेर नेपालमा ६ लाखसम्मको रक्सी उत्पादन हुन्छ । मदिराका सौखिनहरुका लागि नेपालमा ब्राण्डेड र महंगो रक्सी उत्पादन हुन थालेको नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेशप्रसाद श्रेष्ठले बताए । ‘मदिराको व्यपापार बढ्दो छ, नेपालमा ६ लाखसम्मको रक्सी हामीले लन्च गरेका छौं, राजस्वको समेत ठूलो हिस्सा ओगटेका छौं,’ श्रेष्ठले भने ।

नेपाली मदिरा व्यवसायी महासंघका महासचिव खड्काकाअनुसार नेपालमा चल्ने रक्सीका ब्राण्डहरुमध्ये कडाखालको रक्सीमा रुस्लान भोड्का बढी माग रहेको बताए । निम्नबर्गीय परिवारले सस्तो रक्सी खोज्ने र सम्भ्रान्त परिवारले महंगो रक्सी खोज्ने गरेको खड्काको भनाई छ । ३५ रुपैंयादेखि ६ लाखसम्मको रक्सी नेपालमा बजारमा रहेको उनले बताए ।

सम्बन्धित खबरहरु